नेपालले गरेको गोललाई मान्यता नदिएपछि रंगशालामा तनाव, गोल मान्यता नपाए नखेल्ने नेपालको अडान

कार्तिक ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपालले गरेको गोललाई मान्यता नदिएपछि रंगशालामा तनाव, गोल मान्यता नपाए नखेल्ने नेपालको अडान

काठमाडौं । साफ महिला च्याम्पियनसिपमा नेपाल र भारतबीच जारी खेल अहिले अवरुद्ध छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको खेलको ७३ मिनेटमा नेपालकी प्रिति राईले गरेको गोलले मान्यता नपाएपछि विवाद उत्पन्न भएको हो । 

नेपाली टिम र रेफ्रीले छलफलमा पनि लामो समय लगाए पनि निश्कर्ष निस्केको छैन । यसैकारण खेल अवरुद्ध बनेको हो । 

पहिलो हाफमा नेपाल र भारत दुवैले गोल गर्न नसके पनि दोस्रो हाफमा भारतले गोल गर्यो । खेलको २३ औं मिनेटमा भारतकी मनिषाले वायाँतर्फबाट गरेको प्रहार नेपाली डिफेन्डरले बचाएका थिए । ३१ औं मिनेटमा सावित्रा भण्डारीले बक्स बाहिरबाट गरेको शक्तिशाली प्रहार गोलकिपर देवी वाङदेमले जोगाइन् । 

रिबाउन्ड बलमा अमिषा कार्कीको प्रहारसमेत गोलकिपरले बाहिर पठाइदिइन् । पहिलो हाफको इन्ज्युरी समयमा मनिषाको फ्रि किक नेपाली गोलकिपर एन्जिला तुम्बाप्पो शुब्बाले बचाएकी थिइन् । दोस्रो हाफमा नेपाल १० खेलाडीमा समेटियो । 

रन्जना चानुसँग जध्न पुगेकी रेखा पौडललाई रेफ्री सिएम छोरीले दोहोरो पहेँलो कार्ड देखाइन् । त्यसपछि खेल १२ मिनेट रोकिएको थियो । खेलको ७२ औं मिनेटमा वाङदेमको लामो क्रस डिफेन्डर विमला विकेले जोगाएकी थिइन्। तर रिबाउन्ड भएको बलमा लामो दुरीबाट प्रहार गरेर संगीता बासफोरेले गोल गरेकी हुन्। 

त्यसको अर्को मिनेटमा नै नेपालकी प्रिति राईले गरेको गोल भने रेफ्रिले मान्यता दिएनन् । त्यो समयमा भारतका अफिसियल मैदानमा नै रहेको कारण रेफ्रीले गोल मान्यता नदिएको हो । तर सो गोलले मान्यता पाउनुपर्ने नेपालको अपिल रेफ्रीले नमानेपछि खेल लामो समय अवरुद्ध भएको थियो । 

सातौं संस्करणको साफ च्याम्पियनसिपमा नेपाल अपराजित रहेर सेमिफाइनल पुगेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.