भैरहवामा जारी बीपी कोइराला स्मृति कप टी-ट्वेन्टीको सेमिफाइनल समीकरण पूरा

कार्तिक ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
भैरहवामा जारी बीपी कोइराला स्मृति कप टी-ट्वेन्टीको सेमिफाइनल समीकरण पूरा

रुपन्देही । भैरहवामा जारी बीपी कोइराला स्मृति कप टी-ट्वेन्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । लाइफ केयर क्लब, नेक्सस रुपन्देही एघार, साइक क्रिकेटर्स र जावेद गोहर इन्टरनेसनल एकेडेमीले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् ।

सिद्धार्थ रंगशाला मैदानमा आज जित्नै पर्ने खेलमा विजयी भएको पाकिस्तानको जावेद गोहर इन्टरनेसनल क्रिकेट एकेडेमी सेमिफाइनल पुग्ने चौथो टिम बन्यो । उसले आज श्रीलंका स्टेट सर्भिसेज क्रिकेट एसोसिएसनको टिमलाई ४७ रनले पराजित गर्दै शीर्ष चारमा स्थान बनाएको हो ।

श्रीलंका स्टेटले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको जावेदले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३७ रन बनायो । जावेदका ओपनर अली हुसेनले सर्वाधिक ५८ रन बनाउने क्रममा ५९ बलमा ७ चौका प्रहार गरे । रिशिभ जोशीले अविजित १६ रन बनाए । श्रीलंकन टिमको बलिङमा थुशारा लक्षिताग र समन कुमाराले २-२ विकेट लिए । 

जावेद गोहरले दिएको १ सय ३८ रनको लक्ष्य पछ्याएको श्रीलंकन टिम १७ ओभर २ बलमा ९० रन बनाएर अलआउट भयो । श्रीलंकन टिमका लागि समन कुमाराले सर्वाधिक ३९ रन तथा थुशारा लक्षितागले २३ रन बनाए । 

बलिंगमा शमुन इकबालले सर्वाधिक ४ विकेट लिँदा १४ रन मात्रै खर्चिएका थिए । रिशिभ जोशी र रमिशले समान २-२ विकेट लिए । आज पराजित भएसँगै श्रीलंका स्टेट सर्भिसेज प्रतियोगिताबाट बाहिरिएको छ ।

यसैगरी, प्रतियोगितामा आजै सम्पन्न लिग चरणको अन्तिम खेलमा लाइफ केयर क्रिकेट क्लबले बंगलादेशको साइक क्रिकेटर्सलाई ६३ रनले पराजित गर्दै लिगको शीर्ष स्थानमा रहँदै सेमिफाइनल यात्रा तय गर्‍यो । लाइफ केयरले दिएको १ सय ९० रनको विशाल लक्ष्य पछ्याएको बंगलादेशी टिमले २० ओभर ब्याटिङ गरेता पनि ९ विकेट गुमाएर १ सय २६ रन मात्र बनायो।

प्रतियोगिताको दुवै सेमिफाइनल खेल भोलि (शुक्रबार) हुनेछन् । पहिलो सेमिफाइनलमा लाइफ केयर र जावेद गोहर तथा दोस्रोमा साइक क्रिकेटर्स र नेक्सस रुपन्देही एघारबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल शनिबार हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.