साफ महिला च्याम्पियनसिपमा आज बंगलादेशले भारतसँग प्रतिस्पर्धा गर्दै

कार्तिक ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
साफ महिला च्याम्पियनसिपमा आज बंगलादेशले भारतसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । साफ महिला च्याम्पियनसिप-२०२४ मा आज डिफेन्डिङ च्याम्पियन बंगलादेश र पाँच पटकको विजेता भारत भिड्दै छन् ।

भारत यसअघि नै अन्तिम चारमा पुगिसकेको छ । समूह 'ए' को लिग चरणको अन्तिम खेलले यस समूहबाट सेमिफाइनल पुग्ने दोस्रो टिमको टुङ्गो लाग्ने छ । नकआउट चरण पुगिसकेको भारतले यस खेललाई सहज रुपमा लिने छैन । यस खेलबाट समूह एको विजेताको टुङ्गो लाग्ने भएकाले दुबै टिमका लागि यो खेल महत्वपूर्ण हुने छ ।

भारतले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ५-२ ले हराएको थियो । बंगलादेशले भने पाकिस्तानसँग १-१ को बराबरी खेलेको थियो । झिनो अन्तरको हारले पनि बंगलादेश सेमिफाइनल पुग्ने समीकरण छ । तर भारत ३ वा सोभन्दा बढी अन्तरले विजयी भए पाकिस्तान अगाडी बड्ने छ । त्यसकारण बंगलादेशले जित वा बराबरी तथा पराजित भए गोल अन्तर २ वा सो भन्दा कायम राख्नु आवश्यक छ ।

यस खेलमा हार टार्न सके बंगलादेश अन्तिम ४ मा प्रवेश गर्ने छ भने पाकिस्तान घर फर्कने छ । भारतकी कप्तान आशलता देवीले बंगलादेशविरुद्ध जितका लागि प्रतिबद्ध भएर खेल्ने बताएकी छिन् । अर्कोतर्फ बंगलादेशी कप्तान सबिना खातुनले पनि आफ्नो उद्देश्य समूह जित्नु नै रहेको बताएकी छिन् ।

भारतले सन् २०१० देखि लगातार पाँच संस्करणको च्याम्पियनसिप जितेको छ । २०२२ मा दशरथ रंगशालामै भएको प्रतियोगितामा बंगलादेशले जितेको थियो । समूह एमा भारतको तीन अंक छ । बंगलादेश र पाकिस्तानको एक-एक अंक छ । खेल साँझ साढे पाँच बजे दशरथ रंगशालामा हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.