अर्थतन्त्र सुध्रियो भन्ने प्रधानमन्त्रीको दाबीविपरीत भन्सार विभागको तथ्यांक

कार्तिक ७, २०८१ |भरत रावल
अर्थतन्त्र सुध्रियो भन्ने प्रधानमन्त्रीको दाबीविपरीत भन्सार विभागको तथ्यांक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सय दिनको उपलब्धि सार्वजनिक गर्दै अर्थतन्त्रमा सुधार आएको दाबी गर्नुभयो । तर, बुधबारै सार्वजनिक भन्सार विभागको तथ्यांकले अर्थतन्त्र सुधारभन्दा पनि झन् खस्किएको देखाएको छ । गत वर्षको तुलनामा आयात र निर्यात दुवै घटेका छन् । यसले अर्थतन्त्र झन् खुम्चिएको देखिएको छ ।

भन्सार विभागले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो तीन महिनाको आयात निर्यातको तथ्यांकमा वैदेशिक व्यापार झन् खुम्चिँदै गएको देखिएको छ । गत आर्थिक वर्षको पहिलो ३ महिनामा ४ खर्ब ७ अर्ब ७५ करोड रुपैयाँको वस्तु आयात भएकोमा यस वर्ष १७ अर्बले घटेर ३ खर्ब ९० अर्बमा झरेको छ । दुई वर्षदेखि संकुचनमा रहेको अर्थतन्त्रले यस वर्षदेखि गति लिने सरकारको दाबी थियो । 

दशैंतिहारका बेलामा अर्थतन्त्रको एक तिहाई कारोबार हुनेगर्छ । यही बेला आयात र निर्यात झन् खुम्चिँदा थप चिन्ता बढाएको छ । त्यसमा पनि पेट्रोलियम पदार्थको आयातमा आएको कमीले विकास निर्माणदेखि औद्योगिक क्षेत्रसम्मले गति नलिएको देखिन्छ । 

गत आर्थिक वर्षको पहिलो ३ महिनामा ५८ अर्बको पेट्रोलियम पदार्थ आयात भएकोमा यस वर्ष ५२ अर्बको मात्रै आयात भएको छ । त्यसमा पनि डिजेलको आयात २९ अर्बबाट २२ अर्बमा झरेको छ । विकास निमार्णको कार्यले गति लिन नसक्दा स्टिल र फलामे छडको कच्चा पदार्थको आयातमा समेत कमी आएको छ । आयात मात्रै होइन समीक्षा अवधिमा निर्यातसमेत ६ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४० अर्ब ८७ करोडको बस्तु निर्यात भएकोमा यस वर्ष २ अर्बले घटेर ३८ अर्ब ३७ करोडमा झरेको छ ।


Image

भरत रावल

रावल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।