आईसीसी यू-१९ महिला विश्वकप एसिया छनोट खेल्ने नेपाली टोली घोषणा

कार्तिक ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
आईसीसी यू-१९ महिला विश्वकप एसिया छनोट खेल्ने नेपाली टोली घोषणा

काठमाडौं । आईसीसी अन्डर नाइन्टिन महिला विश्वकप एसिया छनोट खेल्ने नेपाली उमेर समूहको टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले पुजा महतोको कप्तानीमा १४ सदस्यीय नेपाली टोली सार्वजनिक गरेको हो।

नेपाली टिमको उपकप्तानमा सोनि पाख्रिन रहेकी छन् । अलिसा यादवले विकेट किपरको जिम्मेवारी सम्हाल्नेछिन भने टिममा सना प्रविन, ज्यात्स्निका मरासिनी, कुशुम गोदा, सावित्री धामी र करिश्मा गुरुङ रहेका छन्। यसैगरी, मनिषा उपाध्याय, रिया शर्मा, सिमाना केसी, स्नेहा महरा, रचना चौधरी र तिर्सना विके पनि अन्डर नाइन्टिन टिममा समेटिएका छन्।

प्रतियोगिता यही कार्तिक १९ गतेबाट यूएईमा हुँदैछ। नेपालले पहिलो खेलमा थाइल्यान्डको सामना गर्नेछ । यो खेल कार्तिक २१ गते हुनेछ । त्यसैगरी २२ गते कुवेतसँग र २४ गते यूएईसँग खेल्नेछ । नेपालले यी तीन टिमसँग फेरी कार्तिकको २५, २७ र २८ गते पनि खेल्नेछ ।

डबल राउन्ड रोविन शैलीमा हुने लिग चरणको खेलको विजेता टोली विश्वकपको लागि छनोट हुनेछ । यसअघि अफ्रिका, अमेरिका, पूर्वी एसिया प्यासिफिक र युरोप छनोट सम्पन्न भइसकेका छन्। विश्वकप अर्को वर्ष मलेसियामा आयोजना हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.