प्रधानमन्त्रीको दाबी : सय दिनमा सरकारले प्रसस्तै काम गर्‍यो

कार्तिक ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्रीको दाबी : सय दिनमा सरकारले प्रसस्तै काम गर्‍यो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सरकारका सय दिनको उपलब्धी सार्वजनिक गर्नुभयो । झण्डै ४० मिनेटको सम्बोधनमा प्रधानमन्त्री ओलीले पहिलो एक सय दिनमा ७० प्रतिशत काम गरेको दाबी गर्दै अर्थतन्त्रमा सुधार भएको दाबी गर्नुभयो । तर, वक्तव्य पढ्न पटक-पटक भइरहेको अलमलका बीच प्रधानमन्त्री आफैं पनि त्यति उत्साहित देखिनु भएको थिएन । तथ्यांकको लामो सूची सुनाउँदिन भन्दै प्रस्तुत गर्नुभएको सम्बोधनमा उहाँले सरकारका कामलाई पुष्टि गर्न तथ्यांकहरु नै पेश गर्नुभयो । यतिसम्मकी नागरिक स्तरबाट दरबारमार्गमा भएको भनिएको कन्सर्टलाई समेत उहाँले सय दिनको उपलब्धीका रुपमा उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले 'म यहाँ तपाईंहरुलाई तथ्यांकको लामो सूची प्रस्तुत गर्दिनँ' भन्दै सुरुमै दाबी गर्नुभयो-  पहिलो सय दिनभित्र सबै मन्त्रालयहरुले गर्ने भनेको कामको संख्या २ सय ७४ वटा पुग्यो, तीमध्ये ७० प्रतिशत काम सम्पन्न भएका छन् ।

उहाँले आफूहरुले सत्ता सम्हाल्दा अर्थतन्त्र डावाँडोल अवस्थामा रहेकोमा यो अवधिमा सुधारका संकेत देखिएको र व्यवसायीमा आत्मविश्वास पलाएको दाबीसमेत गर्नुभयो । तर, बुधबारै भन्सार विभागले सार्वजनिक गरेको आयात र निर्यात दुवै घटेको तथ्यप्रति भने उहाँ बेखबर हुनुहुन्थ्यो ।

प्रधानमन्त्री ओलीले यो अवधिमा सहकारीको रकम अपचलन र ठगीमा संलग्नहरुलाई कारबाहीको दायरामा ल्याइएको उल्लेख गर्दै हालसम्म ६ सयभन्दा बढीलाई कानुनी कारबाही गरिएको र ५ सय ७५ भन्दा बढी जेलमै रहेको तथ्य पेश गर्नुभयो ।

प्रधानमन्त्री ओलीले सरकार गठनको सय दिनमा शान्ति प्रक्रियाका बाँकी कामलाई अन्तिम निष्कर्षमा पुर्‍याउन सफल भएको उल्लेख गर्दै लामो समय द्वन्द्व खेपेको समाजका लागि यो सुखद सन्देश भएको बताउनुभयो । 

उहाँले अहिले साम्प्रदायिक विद्वेष, घृणा र परस्पर बेमेलको वातावरण पैदा गरेर राष्ट्रिय एकतालाई बिथोल्ने र प्रतिगमनतर्फ लैजाने प्रयास भइरहेको समेत बताउनुभयो । यस्तै, काम गर्न नदिने उद्देश्यले सरकार ढल्ने अफवाह फैलाइएकाले त्यस्तो दिवास्वप्न नदेख्न पनि उहाँले चेतावनी दिनुभयो ।

उहाँले निर्माण व्यवसायी, दुग्ध किसान तथा उखु किसानको रोकिएको भुक्तानी गरिएको बताउनुभयो । यस्तै, सार्वजनिक सेवालाई पनि सहज बनाइएको, वैदेशिक रोजगारीमा मृत्यु भएकाहरुका परिवारले पाउने क्षतिपूर्ति ७ लाखबाट १० लाख पुर्‍याइएको र भैरहवा र पोखरामा उडान आकषिर्त गर्न हवाई इन्धनको मूल्य घटाइएको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.