युरोपेली च्याम्पियन्स लिगमा आज रियल मड्रिडले बोरुसिया डर्टमन्डसँग प्रतिस्पर्धा गर्ने

कार्तिक ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
युरोपेली च्याम्पियन्स लिगमा आज रियल मड्रिडले बोरुसिया डर्टमन्डसँग प्रतिस्पर्धा गर्ने

काठमाडौं । युरोपेली च्याम्पियन्स लिगमा आज राति साविक विजेता रियल मड्रिडले उपविजेता बोरुसिया डर्टमन्डको सामना गर्ने छ । यससँगै च्याम्पियन्स लिगमा आजै १० खेल हुने छन् ।

गत संस्करणको फाइनलमा डर्टमन्डलाई रियलले २-० गोलले हराएर उपाधि जितेको थियो । रियलकै बर्नाबेउ रंगशालामा आज राति डर्टमन्ड क्लब त्यो हारको बदला लिने योजनामा हुनेछ । तर बर्नाबेउमा डर्टमन्डले सात खेलसम्म पनि रियललाई हराउन सकेको छैन ।

च्याम्पियन्स लिगमा एकै रंगाशालामा सबैभन्दा लामो पराजयको शृंखला तोड्न नसकेको टिम बोरुसिया नै हो । यता रियलका कार्भाजल र भिनिसियस जुनियर घाइते भएपछि भने रियललाई केही समस्या हुन सक्नेछ । यद्यपि उसका एम्बाप्पे पनि मैदानमा फर्किएका छन् । एम्बाप्पेका साथै जुड बेलिङ्घम, एन्ड्रिक, रोड्रिगो फर्ममा छन् ।

तर पछिल्लो खेलमा लिल्लसँग पराजय बेहोरेको कार्लो एन्सोलोटीको टोलीलाई विजयको लयमा फर्काउन प्रशिक्षकलाई दबाब छ । जारी सिजनमा दुई खेलमा १० गोल गरिसकेको डर्टमन्ड ३६ टिम सम्मिलित लिगको अंक तालिकाको शीर्षस्थानमा छ। रियल १७ औं स्थानमा छ ।

यो खेल राति पौने १ बजे सुरु हुनेछ । च्याम्पियन्स लिगमा आज राति नै मिलानले क्लब ब्रुगलाई र आर्सनलले शक्तर डोनेस्कलाई स्वागत गर्नेछ । युभेन्टस, पीएसजी, जिरोना, एस्टन भिल्ला र अटलान्टाले घरेलु मैदानमा खेल्ने तालिका छन् । तेस्रो चरणका खेल अर्को हप्तासम्म चल्नेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.