एक वर्षपछि मैदान फर्किए नेइमार

कार्तिक ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
एक वर्षपछि मैदान फर्किए नेइमार

काठमाडौं । ब्राजिलियन फरवार्ड, नेइमार एक वर्षपछि मैदान फर्किएका छन् । गएराती भएको एशियन च्याम्पियन्स लिगमा अल हिलालले अल आइन माथि ५-४ गोलको कठिन जीत हात पार्दा नेइमार सब्सिच्युट खेलाडीका रुपमा मैदान प्रवेश गरेका थिए । 

अन्तिम समयमा दश खेलाडीमा समेटिएको हिलालका लागि सलेम अल्दासारीले ह्याट्रिक गरे । अबु धाबीस्थित हाजा बिन जायद स्टेडियममा साउदी प्रो लिग क्लब हिलालले २६ औं मिनेटमा रेनन लोदीको गोल मार्फत अग्रता लिएको थियो । तर हिलालको अग्रता लामो समय टिकेन् । प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलको ३९ औं मिनेटमा अल आइनका सुफियान रहिमीले बराबरी गोल फर्काए । 

इन्जुरी समयमा सेर्गी मिलिकोभिच साभिचले गोल गरेपछि हिलाल पुनः लयमा फर्कियो । लगत्तै सलेमले टिमका लागि तेस्रो गोल थपे र पहिलो हाफमा अल आइन तीन एकले पछि पर्यो । ६३ औं मिनेटमा अल आइनका माटेयो सानाब्रियाले गोल गरेपछि हिलाल माथि दबाब बनेको थियो । ६५औं मिनेटमा सलेमले ब्यक्तिगत दोस्रो गोल गरे । ६७ औं मिनेटमा अल आइनका सुफियानले हिलाल संगको दुरी कम गरेका थिए । ७५ औं मिनेटमा सलेमले ह्याट्रिक पुरा गरेका थिए । ७७ औं मिनेटमा नेइमार , नासेर अल दस्वारीको स्थानमा मैदान प्रवेश गरेका हुन् । 

देब्रे खुट्टाको घुंडामा चोट लागेपछि नेइमारको शल्यकृया गरिएको थियो । ८२ औं मिनेटमा अली अब्दुल्लाही रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि हिलाल दश खेलाडीमा समेटिएको थियो । नेइमारले पनि गोलको प्रयास गरेका थिए । तर सफल भएनन् । 

इन्जुरी समयमा सुफियानले पेनाल्टिमा गोल गर्दै ह्याट्रिक पुरा गरेपनि नतिजा आफ्नो पक्षमा पार्न भने सकेनन् । समुह बी मा रहेको हिलाल तीन खेलबाट ९ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.