साफ महिला च्याम्पियनसिप भोलिदेखि, नेपाललाई इतिहास रच्ने मौका

आश्विन ३०, २०८१ |सुवास रोकाया
साफ महिला च्याम्पियनसिप भोलिदेखि, नेपाललाई इतिहास रच्ने मौका

काठमाडौं । साफ महिला च्याम्पियनसिपमा सधैंजसो भारतको दबदबा देखिन्छ । प्रतियोगिताका ६ संस्करणमध्ये भारतले पाँच पटक त उपाधि नै जितेको छ । बंगलादेश साविक विजेता हो । उपाधि नजिते पनि नेपाललाई हरेक संस्करणको दाबेदारका रुपमा हेरिन्छ । पाँच पटकको उपविजेता नेपाल यस पटक भने इतिहासकै सबैभन्दा बलियो देखिएको छ । घरेलु मैदानमा नेपाल यसपटकको 'फेब्रेट' टोली पनि हो ।

नेपालले लगातार तेस्रो पटक साफ महिला च्याम्पियनसिप आयोजना गर्दै छ । सन् २०१९ मा विराटनगरमा पाँचौ संस्करण आयोजना गरेको नेपालले २०२२ मा छैटौं संस्करण दशरथ रंगशालामा गर्‍यो । तुलनात्मक रुपमा हालसम्मकै बलियो देखिएको नेपालको अहिलेको टोलीले घरेलु मैदानमा पहिलो पटक च्याम्पियन बन्ने लक्ष्य राखेको छ ।

राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाले यसपटक टिम पनि ब्यालेन्समा रहेकाले उपाधि जित्नका लागि आफ्नो टिमको मिहिनेत खेर नजाने बताइन् ।

नेपाली टिममा अनुभवी र युवा खेलाडीबीचको सन्तुलन छ । नेपाली खेलाडीले मध्यपूर्व र युरोपसम्म आफ्नो कौशलको जादु देखाउँदा विभिन्न विदेशी लिगमा समेत नेपाली खेलाडीको माग बढेको छ । सोही कारण नेपाल यस संस्करणको फेब्रेट टोली हो ।

राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षक राजेन्द्र तामाङले टिमले सक्छौं भन्ने आत्मविश्वासका साथ खेल्यो भने उपाधि असम्भव नरहेको बताए ।

नेपाली महिला फुटबल टिमको स्तर उकासिए पनि अन्य प्रतिस्पर्धी टिम कमजोर भने छैनन् । उनीहरुले पनि राम्रो प्रगति गरेका छन् । भारत सधैं नेपाली टोली र उपाधीबीच तगारो बन्दै आएको छ । २०२२ मा भने बंगलादेशले नेपालविरुद्ध अप्रत्यासित नतिजा हात पारेको थियो ।

साफ च्याम्पियनसिपको इतिहास हेर्दा नेपाल फाइनलमा आएर चुकेको देखिन्छ । सन् २०१०, २०१२ र २०१४ मा भारतले नेपाललाई पराजित गर्दै च्याम्पियन बन्यो । सन् २०१६ मा नेपाल फाइनलमै पुगेन भने २०१९ मा फेरि नेपाल फाइनलमै भारतसँग स्तब्ध भयो । 

सन् २०२२ मा नेपाल पहिलो पटक बंगलादेशसँग पराजित हुँदा उपाधि जित्ने राम्रो अवसर खेर गयो । यसअघि नेपाल बंगलादेशविरुद्ध कुनै खेलमा हालेको थिएन । तथ्याङ्कको कुरा गर्दा ५ पटकको च्याम्पियन भारतले यो प्रतियोगिताका ६ संस्करणमा २७ खेल खेल्दा २४ जित र २ हार बेहोरेको छ । १ खेल बराबरीमा समाप्त गरेको भारतले १ सय ५० गोल गरेको छ भने १० गोल बेहोरेको छ । 

नेपालले पनि ६ संस्करणमा २७ खेल खेलेको छ । जहाँ २१ जित र ६ खेल हारेको नेपालले हालसम्म बराबरी नतिजा निकालेको छैन । कुल १ सय १४ गोल गरेको नेपालले २० गोल खाएको छ । गोलअन्तर र हार जितको तथ्याङ्कमा भारत, नेपाल र बंगलादेशको मात्र सकारात्मक अंक छ ।

प्रतियोगितमा सबैभन्दा कमजोर प्रदर्शन भुटानको छ । उसले ६ संस्करणमा १७ खेल खेल्दा केवल १ जित र १ खेल बराबरी खेलेको छ । बाँकी सबै खेलमा हार बेहोरेको भुटानले ८ गोल गर्दा ८९ गोल बेहोरेको छ ।


Image

सुवास रोकाया

रोकाया कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।