शीर्ष राजनीतिक नेतृत्व र दलीय एकाधिकारप्रति आमजनतामा असन्तुष्टि बढ्दो छ । प्रतिबद्धता अनुसार काम गर्न नसकेको भन्दै दलका शीर्ष नेतृत्वप्रति आक्रोश बढेका बेलालाई राजावादीले यसलाई मौकाका रूपमा लिएका छन् । अर्कोतर्फ अन्तर्राष्ट्रिय राजनीतिक वृत्तमा अतिवादी धारहरू हावी हुँदै गएका छन् । जसले गर्दा दक्षिणपन्थी शक्तिहरूको सल्बलाहट पनि बढेको छ ।
कांग्रेस, एमाले र माओवादी केन्द्र नै अहिलेको शासन व्यवस्थाको मुख्य शक्ति हुन् । संविधान जारी भएपछिका ९ वर्षमा तीन दलले चलाएका ८ वटा सरकारले अस्थिरता अन्त्य गर्न त सकेनन् नै सुशासन र डेलिभरी दिन नसक्दा नागरिकमा निराशा बढेको यथार्थ हो । त्यति मात्रै होइन दलभित्रको एकाधिकारवादी सोचले लोकतन्त्रलाई पनि कमजोर बनाएको छ । ललिता निवास, भुटानी शरणार्थी, गिरीबन्धु, शिविर घोटाला, सहकारी ठगीजस्ता ठूल्ठूला अनियमितताका काण्डमा ठूला दलका नेता र उनीहरुका परिवार मात्र होइन, वैकल्पिक शक्ति दाबी गर्नेहरू पनि जोडिने गरेका छन् ।
यसले पनि सम्बन्धित दल र नेता मात्र होइन, समग्र प्रणालीमाथि प्रश्न उठ्ने गरेको हो । सरकारमा हुँदा जनताका आकांक्षा र कार्यकर्ताको भावनासँग टाढिने र प्रतिपक्षमा पुगेपछि विभिन्न नाम र अभियान लिएर जनताको दैलोमा हात जोड्न पुग्ने शैली यसपटक पनि देखिएको छ । यही क्रममा माओवादी केन्द्र तराई-मधेश जागरण अभियानमा छ भने सत्तारुढ दलहरू कांग्रेसले मिसन रोजगारी चलाइरहेको छ भने एमाले जरा अभियानमा छ ।
देशको पछिल्लो राजनीतिक घटनाक्रमको संकेत के हो ? के राजनीतिक नैराश्य चुलिएको हो ? मुख्य दलहरूले सञ्चालन गरिरहेको अभियानको उदेश्य के ? जनताको असन्तुष्टि व्यवस्थामा कि नेतामा ? संविधानपछिका ९ वर्षमा ८ वटा सरकार देशको मुल समस्या समाधानमा किन असफल ? को बन्ला जनताको अवस्था बदल्ने मसिहा ?
सरोकारको आजको अंकमा हामी यिनै विषयमा बहस गर्दै छौं । स्टुडियोमा हुनुहुन्छ, नेकपा एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, नेकपा माओवादी केन्द्रका तर्फबाट प्रतिनिधि सभा सदस्य दुर्गा राई र राजनीतिक विश्लेषक पुरञ्जन आचार्य ।
हेर्नुहोस् कार्यक्रम सरोकार :