विमेन्स डे कपमा नेपालको तेस्रो हार, नामिबियासँग २३ रनले पराजित

फाल्गुन २८, २०८१ |खेल ब्युरो
विमेन्स डे कपमा नेपालको तेस्रो हार, नामिबियासँग २३ रनले पराजित

काठमाडौं । युगान्डामा जारी चारदेशीय विमेन्स डे कपमा नेपालले तेस्रो हार बेहोरेको छ । नामिबियासँगको दोस्रो भेटमा नेपाल २३ रनले पराजित भएको हो । 

यसअघिको खेलमा पनि नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको थियो । हारका बाबजुद नेपालको फाइनल पुग्ने सम्भावना भने बाँकी नै छ ।

युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि सुरुआती ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२५ रन तयार पार्यो । नेपालले जारी प्रतियोगितामा पाएको यो हालसम्मको उच्च लक्ष्य हो ।

नामिबियाका लागि कप्तान सुने विटम्यानले १५ रनको योगदान दिइन् । उनलाई इश्वरी विष्टले बोल्ड गरेकी थिइन् । काइलीन ग्रीन ८ रन बनाएर इश्वरीकै शिकार बनिन् । ३३ रनमा दोस्रो विकेट गुमाएको नामिबियाले ५० रन बनाउँदा ५ विकेट गुमाइसकेको थियो । तर यास्मिन खान र विल्का मावातेलीले ४३ रनको साझेदारी गर्दै नामिबियालाई राम्रो अवस्थामा पुर्‍याए । यास्मिनले सर्वाधिक ४५ रनको योगदान दिइन् । मावातेलीले २० रन बनाइन् । जुरियन डियर-गाड्राटले अविजित १६ रनको योगदान दिइन् । 

नेपालका लागि इश्वरी विष्ट र रचनाकुमारी चौधरीले २ विकेट लिए । रिया शर्मा र कप्तान इन्दु बर्माले समान १-१ विकेट हात पारे ।

जवाफमा नेपालले २० ओभरमा पाँच विकेट गुमाएर १०२ रन मात्रै बनाउन सक्यो । ओपनर सना प्रविनले ३१ रनको योगादन गरे पनि बाँकी खेलाडीबाट रन बन्न सकेन् । सम्झना खड्का दुई रनमा आउट भइन् । पूजा महतोले १५ रनको योगदान गर्न सकिन् भने कप्तान इन्दू बर्मा १५ रनमा नै आउट भइन् । अन्तिममा रुविना क्षेत्री र कविता जोशीले पनि लामो साझेदारी गर्न नसक्दा नेपालले तेस्रो हार बेहोरेको हो । 

रुविना ७ रनमा आउट हुँदा कविताले १७ रन जोडिन् । ममता चौधरले पनि ८ रनको योगदान गरिन् । नामिबियाका लागि इभलिन केजारुकुवाले दुई विकेट लिइन् भने वाइका मावातेली, सइमा तुहाडि-लेनी र मिकीलन्ये मावातेलीले समान एक एक विकेट बाँडेका थिए । पहिलो लेगको खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको थियो । यसअघिको खेलमा हङकङसँग दुई रनले पराजित भएको भएको नेपलाले आयोजक युगान्डासँगको खेलमा विजयी भएको थियो । 

अंकतालिकामा नामिबिया, हङकङ र युगान्डाको सामना ४-४ अंक भएको छ भने नेपालको दुई अंक मात्रै छ ।



Enter Kantipur TV HD
Advertisement