साफ महिला च्याम्पियनसिपको सातौं संस्करण भोलिदेखि काठमाडौंमा

आश्विन ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
साफ महिला च्याम्पियनसिपको सातौं संस्करण भोलिदेखि काठमाडौंमा

काठमाडौं । साफ महिला च्याम्पियनसिपको सातौं संस्करण भोलिदेखि काठमाडौंमा सुरु हुँदैछ । उद्घाटन खेलमा भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।

पहिलो खेलमा नै चीर प्रतिद्वन्द्वी भारत र पाकिस्तान आमने-सामने हुन लागेका हुन् । भारत प्रतियोगिताको सर्वाधिक ५ पटकको विजेता हो । पाकिस्तानले अहिलेसम्म फाइनलमा स्थान बनाउन सकेको छैन । 

आज भएको प्रिम्याच प्रेस कन्फरेन्समा भारतीय टोलीका प्रशिक्षक सन्तोष कश्यपले इतिहास जस्तो भए पनि पाकिस्तानसँगको खेल नयाँ हुने प्रतिक्रिया दिए । कप्तान आशालता देबीका लागि पनि यो खेल विशेष रहनेछ । पाकिस्तानविरुद्ध मैदानमा उत्रँदा उनले राष्ट्रिय टिमबाट एक सयौं खेलको कोशोढुंगा पूरा गर्नेछिन् ।

पाकिस्तान र भारत साफ महिला च्याम्पियनसिपमा तेस्रो पटक भिड्दैछन् । यसअघि सन २०१४ को सेमिफाइनलमा भारत-आठ शून्य गोलको फराकिलो अन्तरले विजयी भएको थियो । अघिल्लो संस्करण भारतले पाकिस्तानलाई समूह चरणमा तीन-शून्य गोलले पराजित गरेको थियो । २०१६ र २०१९ को संस्करणमा भने पाकिस्तान सहभागी भएको थिएन । पाकिस्तानकी कप्तान मारिया खान र प्रशिक्षक आदेल रिज्कीले बलियो टोली भारतसँग खेल्दै यात्रा सुरु गर्न पाउँदा उत्साहित रहेको बताइन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यो खेल खेल साँझ साढे ५ बजे सुरु हुनेछ । प्रतियोगितामा सात टोलीको सहभागिता रहेको छ । समूह ए मा पाकिस्तान, भारत र साविक विजेता बंगलादेश छन् । समूह बीमा घरेलु टोली नेपाल, श्रीलङ्का, माल्दिभ्स र भुटान छन् । 

नेपालले लगातार तेस्रो पटक साफको आयोजना गर्दैछ । यसअघि सन् २०१९ को साफ विराटनगर र २०२२ को दशरथ रंगशालामा नै भएको थियो । नेपालले भने आफ्नो पहिलो खेल शुक्रबार साढे पाँच बजे भुटानसँग खेल्नेछ । सोही दिन दिउँसो साढे १ बजे श्रीलङ्का र माल्दिभ्सबीच खेल हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.