पशुपति धर्मशाला सञ्चालनको विवाद उत्कर्षमा, प्रहरीले अवरोध गरेको भन्दै महानगरको आपत्ति

आश्विन ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
पशुपति धर्मशाला सञ्चालनको विवाद उत्कर्षमा, प्रहरीले अवरोध गरेको भन्दै महानगरको आपत्ति

काठमाडौं । पशुपति गौशाला धर्मशाला सञ्चालनका विषयमा विवाद झन् चर्किएको छ । पशुपति क्षेत्र विकास कोषले मारवाडी सेवा समितिसँग गरेको धर्मशाला सञ्चालनको सम्झौता रद्द गरेपछि विवाद उत्कर्षमा पुगेको हो । कोष र काठमाडौं महानगरपालिकाले मिलेर धर्मशाला सञ्चालन गर्न आज कार्यालय स्थापना गर्ने भने पनि प्रहरीले अवरोध गरेपछि बोर्ड मात्र राखिएको छ ।

पशुपति क्षेत्र विकास कोषसँग २०६० सालमा मारवाडी सेवा समितिले सम्झौता गरेर पशुपति गौशाला धर्मशाला सञ्चालन गर्दै आएको हो । सम्झौताअनुसार ९ रोपनी ९ आनामा फैलिएको धर्मशाला सञ्चालनका लागि कोषलाई वार्षिक ५१ हजार रुपैयाँ उपलव्ध गराउँदै आएको छ । 

२१ वर्षदेखि धर्मशाला सञ्चालन गर्दै आएको समितिसँगको सम्झौता कोषले रद्द गरेपछि विवादले उग्ररुप लिएको हो । सम्झौता रद्द गर्ने निर्णयलाई अदालतले सदर गरेपछि महानगरसँग मिलेर कोषले नै धर्मशाला सञ्चालन गर्न खोजेको हो । तर, कार्यालय स्थापना गर्न पुगेको कोष र महानगरको टोलीलाई प्रहरीले धर्मशालाभित्र छिर्न दिएन ।

काठमाडौं महानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष आशामान संगतले मारवाडी सेवा समितिले निस्वार्थ रुपमा सेवा गरिरहेको दाबी गर्ने हो भने राज्यले धर्मशाला सञ्चालन गर्ने जिम्मा लिँदै गर्दा समितिले आपत्ति मान्नुपर्ने ठाउँ नहरेको बताउनु भयो । 

वडाध्यक्ष संगतले भन्नुभयो, 'प्रोपर्टी उहाँहरुको हो भने, उहाँहरुले गरेको ढिपी, उहाँहरुले गरेको जिद्दी ठीक हो । प्रोपर्टी उहाँहरुको नहुँदाको बखतमा राज्यले वनरसिप लिएर उहाँहरुले गरेको राम्रो काम राज्यले पनि सिक्यो र वनरसिप लियो भन्दा त उहाँहरु खुसी हुनुपर्ने हो ।

धर्मशालाका नाममा मारवाडी सेवा समितिले व्यापार गरिरहेको आरोप पशुपति क्षेत्र विकास कोषको छ । १९ वटा पसलका सटर र धर्मशालामा बास बस्नका लागि सयभन्दा बढी कोठा छन् । यसका साथै समितिले स्वास्थ्य केन्द्रलगायतका व्यवसाय सञ्चालन गरी व्यापार व्यवसाय गर्दै आएको आरोप कोषको छ । जबकि सम्झौतामा धर्मशालाभित्र व्यापार गर्न नपाइने व्यवस्था थियो ।

वडाध्यक्ष संगतले भन्नुभयो, '१५ देखि २० वटा पसल छन्, कुनै पनि पसलको महिनाको ५०-६० हजारभन्दा कम भाडा छैन भन्ने बुझ्छौं । धर्मशाला व्यापारिक ठाउँ होइन ।'

काठमाडौं महानगरपालिकाले धर्मशाला खाली गराउन नेपाल प्रहरीले अवरोध गरेको आरोप लगाएको छ । धर्मशालाका नाममा व्यापार गर्नेगरी नक्सा पास नगरी बनाइएका संरचना भत्काइने महानगरपालिकाको भनाइ छ ।

काठमाडौं महानगरपालिका वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले धर्माशालामा नक्सा पास नभएका भवनहरु बनेका डकुमेन्ट आफूहरुसँग भएको बताउँदै नक्सा विपरीतका संरचना भत्काउने स्पष्ट आदेश भएको जनाउनु भयो । उहाँले नेपाल प्रहरीले गरेको अवरोधको विरोध समेत गर्नु भयो ।

मारवाडी सेवा समितिले भने धर्मशाला सञ्चालनको जिम्मेवारी आफैंले पाउनुपर्ने माग गर्दै छलफलबाट समस्या समाधान गर्न सकिने जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.