एन्फा महिला लिगमा सुदूरपश्चिमको प्रदर्शनले उठेको प्रश्न- सुदूरपश्चिम एकाएक कसरी भयो कमजोर ?

आश्विन २८, २०८१ |विनयज्योति सापकोटा|हरिश्चन्द्र बाग
एन्फा महिला लिगमा सुदूरपश्चिमको प्रदर्शनले उठेको प्रश्न- सुदूरपश्चिम एकाएक कसरी भयो कमजोर ?

काठमाडौं । यो वर्षको एन्फा महिला लिगमा सुदूरपश्चिम प्रदेश सबै टिम भन्दा कमजोर देखियो । हरेक खेलमा सुदूरपश्चिम फराकिलो अन्तरले पराजित भयो। गत वैशाखमा सुर्खेतमा भएको छनोटमा उत्कृष्ट प्रदर्शन गरेको सुदूरपश्चिम एकाएक यस्तो कमजोर कसरी भयो ? यस विषयमा धेरै फुटबल प्रेमीहरुले चासो देखाएका छन् । 

एन्फा महिला लिगमा सुदूरपश्चिमले ७९ गोल बेहोर्‍यो भने तीन गोलमात्र गर्न सक्यो। लिगमा सहभागी सुदूरपश्चिमको हरेक खेलको नतिजा लज्जास्पद रहृयो। सबै विपक्षीले सुदूरपश्चिमलाई धेरै गोल गर्ने र गोलअन्तर बढाउने टिमको रुपमा मात्रै बुझे। लिगअघि सुदूरपश्चिम फुटबल संघले प्रशिक्षक परिवर्तन गरेर पुनः खेलाडी छनोट गर्ने तयारी गरेपछि महिला लिगमा सहभागी हुनु तीन दिन अघि २६ खेलाडीले बन्द प्रशिक्षण बहिस्कार गरे। खेलाडीले पुरानै प्रशिक्षक राख्नुपर्ने र २६ जनालाई नै लिग खेलाउनुपर्ने अडान लिए। तर पहिले प्रशिक्षण गराइरहेका सुरज तामाङसँग लिगमा अनिवार्य गरिएको बी लाइसेन्स नै थिएन । 

खेलाडी र प्रदेश एन्फाबीच विवाद बढेपछि सुदूरपश्चिम एन्फाले बलमिच्याइँ गरेर खेलाडी छनोटको सूचना निकाल्यो। पहिलेका खेलाडी छनोटमै आएनन्। जस्ता खेलाडी छनोटमा आए तिनै खेलाडीलाई लिएर सुदूरपश्चिम प्रदेश लिगमा सहभागी भएको हो। प्रशिक्षण गरिरहेका खेलाडीलाई बाहिर राखेर नयाँ टिमलाई खेलाएपछि यस्तो अवस्था आएको व्यवस्थापक मिना ठगुन्ना बताउँछिन्।

कैलालीका केही एकेडेमीमा फुटबल प्रशिक्षण गरिरहेका खेलाडी निकै उत्कृष्ट छन्। तर प्रदेश एन्फाको बलमिच्याईँले उनीहरु राष्ट्रिय टिममा छनोट हुने अवसर गुमेको छ। फुटबलमै भविष्य खोजिरहेका उत्कृष्ट खेलाडी बाहिर रहादा प्रतिस्पर्धाको स्तर नै कमजोर भएको छ।

पहिलो रोजाईका खेलाडीले टिम छाडेपछि भने युवा खेलाडीलाई यो लिग अवसर बन्यो। उनीहरुले लिगबाट आत्मविश्वास बटुलेको बताएका छन्। उमेर समूहको महिला फुटबल टिममा त सुदूरपश्चिमका खेलाडीको बाहुल्यता नै रहने गरेको छ। साफ महिला च्याम्पियनसिपका लागि राखिएको बन्द प्रशिक्षणमा भने सुदूरपश्चिमको टिमका कुनै पनि खेलाडी परेनन्। महिला फुटबलरको उर्वर भूमिका रुपमा विकास हुँदै गरेको भए पनि सुदूरपश्चिममा एन्फाले खेल्नका लागि न कुनै सुविधा नदिएको छ न प्रशिक्षक नै उत्कृष्ट छन् । 

महिला लिगमा सुदूरपश्चिमको सहभागीता र खेलाडी छनोटको विषयमा एन्फाले समिति बनाएर गहन अध्ययन गर्न आवश्यक छ। आउँदा लिगमा यस्तो गल्ती हुन नदिन, खेलाडीलाई फुटबलको संरचनाबारे ज्ञान दिन, प्रतियोगिताको तयारी समयमै सक्न तथा स्वच्छ मनसायले प्रतियोगिता सञ्चालन गर्न आवश्यक हुन्छ।


Image

विनयज्योति सापकोटा

सापकोटा कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।

Image

हरिश्चन्द्र बाग

बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन् ।