काठमाडौं । स्पेनिस कार्लोस अल्काराज, साङ्घाई मास्टर्स टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
आज भएको राउन्ड अफ सिक्सटिन प्रतिस्पर्धामा २१ वर्षीय अल्काराजले, ३८ वर्षका गेइल मोफिसलाई सोझो सेटमा पराजित गरेका हुन् । तर भेट्रान मोफिस विरुद्धको खेल त्यति सहज भने भएन ।
पहिलो सेट अल्काराजले ६-४ ले जितेका थिए । दोस्रो सेट थप प्रतिस्पर्धात्मक बन्यो । यद्यपी अल्काराजले ७-५ ले आफ्नो पक्षमा पार्दै अन्तिम आठमा स्थान सुरक्षित गरे । उनको यो लगातार १२ औं जित हो ।
अल्काराज सन् २०१७ पछि साङघाइ मास्टर्सको क्वाटरफाइनल पुग्ने पहिलो स्पेनिस पनि हुन् । विश्व नम्बर एक यानिक सिनर पनि अन्तिम आठमा पुगेका छन् । इटालियन सिनरले, अमेरिकाका बेन सेल्टनलाई सोझो सेटमा हराए । उनले ६-४, ७-६ को जित हात पारेका हुन् । यी दुई लगातार दोस्रो सिजन चौथो चरणमा आमने-सामने भएका हुन् । तर यो पटक सिनरले यसअघिको नतिजा एक घन्टा २८ मिनेटमा उल्ट्याउँदै आफ्नो पक्षमा पारे ।
अब उनले सेमिफाइनल प्रवेशका लागि रुसका ड्यानिल मेदभेदेसँग खेल्नेछन् । मेदभेदेभले ग्रिसका स्टेफानोस चिचिपासलाई ७-६, ६-३ को सेटमा हराएका हुन् । एक घन्टा ५० मिनेटमा जित निकाल्दै मेदभेदेभले वर्षको पाँचौ पटक सिनरसँगको भेट पक्का गरेका हुन् ।
सर्वियाका नोभाक जोकोभिचल पि्र क्वाटरफाइनलमा , रुसका रोमन साफिउलिनलाइ ६-३, ६-२ ले पराजित गरे ।