काठमाडौं । रूस–युक्रेन युद्धविरामका लागि अमेरिकाले अघि सारेको प्रस्तावमा मस्को सकारात्मक देखिए पनि विभिन्न आशंका उठाएको छ । अमेरिकी युद्धविराम प्रस्तावप्रति रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले थुप्रै प्रश्न उठाउनु भएको हो ।
क्रेमलिनले पुटिन र ट्रम्पबीच यस विषयमा चाँडै टेलिफोन वार्ता हुने अपेक्षा व्यक्त गरेको छ । राष्ट्रपति पुटिनसँग बिहीबार भएको भेटवार्तापछि अमेरिकी विशेष दूत स्टिभ विटकोफ विभिन्न प्रश्न र सन्देश बोकेर वासिङ्टन फर्किनुभएको छ । विटकोफले ट्रम्पलाई गर्ने ब्रिफिङपछि यो विषयले थप स्पष्टता पाउने अपेक्षा गरिएको छ ।
रूसी राष्ट्रपतिको कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले युद्धविरामप्रति रूसको सैद्धान्तिक सहमति रहे पनि यसका थुप्रै पाटाहरू प्रस्ट पारिनुपर्ने बताउनुभएको छ । यसअघि हिजो आयोजित संयुक्त पत्रकार सम्मेलनमा पुटिनले युद्धविरामप्रति सैद्धान्तिक सहमति भए पनि सो युद्धविराम कसरी कार्यान्वयनमा आउँछ भन्ने विषयमा थुप्रै प्रश्नहरुको जवाफ आवश्यक रहेको बताउनुभएको थियो ।
पुटिनले युक्रेनसँगको यु्द्धविराम दीर्घकालीन शान्तितर्फ लक्षित हुनु पर्ने र यसले युद्धको मूल कारणलाई सम्बोधन गर्नुपर्ने बताउनुभएको छ । ती मूल कारण के हुन भन्नेबारे पुटिनले स्पष्ट नपारे पनि युक्रेन विरुद्धको पूर्ण युद्ध सुरु गर्नुअघि उहाँले यसको उद्देश्य युक्रेनलाई असैनिकृत र नाजिवादको प्रभावबाट मुक्त गर्नु तथा यसलाई नेटोको सदस्य हुनबाट रोक्नु रहेको बताउनुभएको थियो ।
यसका अतिरिक्त पुटिनले ३० दिने युद्धविरामको अवधिलाई युक्रेनले आफ्ना सेनालाई पुनःसंगठित र पुनशसस्त्रीकरणका लागि प्रयोग गर्दैन भन्ने कुराको सुनिश्चिता कसरी हुन्छ भन्ने प्रश्न राख्नु भएको थियो । यस्तै उहाँले युद्धविरामको पालना भए नभएको कुराको निगरानी कसले गर्छ भन्ने जिज्ञासा समेत राख्नुभएको थियो ।
उता युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने पुटिनको प्रतिक्रियालाई कपटपूर्ण बताउनुभएको छ ।
युद्धविरामका सम्बन्धमा जेलेन्स्की र पुटिनबीच तात्त्विक रूपमै भिन्नता देखिएको छ । युक्रेनले तत्कालका लागि छोटो युद्धविराम र थप संवाद मार्फत् दीर्घकालीन शान्ति खोज्नु पर्ने धारणा राखेको देखिन्छ भने रूस एउटै सम्झौतामा सबै कुरा टुंग्याइनुपर्ने पक्षमा देखिन्छ ।
यी सबै कुराकाबीच अब अमेरिकी राष्ट्रपति ट्रम्पको भूमिका के कस्तो हुन्छ भन्नेमा धेरै कुरा भर पर्ने विश्वास गरिएको छ ।