एभरेष्ट महिला भलिबल लिगको उपाधिका लागि कर्णाली यश्विज र ललितपुर क्विन्स प्रतिस्पर्धा गर्ने

आश्विन १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
एभरेष्ट महिला भलिबल लिगको उपाधिका लागि कर्णाली यश्विज र ललितपुर क्विन्स प्रतिस्पर्धा गर्ने

काठमाडौं । पहिलो संस्करणको एभरेष्ट महिला भलिबल लिगको उपाधिका लागि कर्णाली यश्विज र ललितपुर क्विन्स प्रतिस्पर्धा गर्ने भएका छन् ।

कर्णाली अपराजित रहँदै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो भने गएराति सम्पन्न लिगको अन्तिम खेलमा कर्णालीले काठमाडौं स्पाइकर्सलाई ३-१ ले पराजित गरेपछि ललितपुर फाइनलमा पुगेको हो ।

कर्णालीविरुद्ध काठमाडौंलाई फाइनल पुग्न २ सेटमा जित आवश्यक थियो तर काठमाडौंले १ सेट मात्र जित्न सकेपछि त्यसको फाइदा ललितपुरलाई भएको हो । ललितपुरले अन्तिम दिन चितवनलाई हराउँदा उसको फाइनल यात्राको सम्भावना लिगको अन्तिम खेलमा टिकेको थियो ।

त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा काठमाडौंले पहिलो सेट २५-२३ ले जित्दै फाइनल पुग्ने सम्भावना जीवित राखेपनि त्यसपछि लगातार ३ सेट गुमाउन पुग्यो । कर्णालीले दोस्रो सेट २५-१४, तेस्रो सेट २५-२३ र चौथो सेटमा २५-१२ को सहज जित हात पार्यो ।

कर्णाली ५ खेलमा १३ अंकसहित एक मात्र अपराजित टोलीको रुपमा फाइनल प्रवेश गर्दा ललितपुर क्विन्सले ५ खेलमा १० अंक जोडेर उपाधि नजिक पुगेको हो । काठमाडौंले ९ अंकसहित तेस्रो स्थानमा रहेर लिग समाप्त गर्‍यो । फाइनल खेल आज साँझ साढे ५ बजे सुरु हुने छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement