एभरेष्ट महिला भलिबल लिगको उपाधि कर्णाली यश्विजलाई

आश्विन १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
एभरेष्ट महिला भलिबल लिगको उपाधि कर्णाली यश्विजलाई

काठमाडौं । पहिलो संस्करणको एभरेष्ट महिला भलिबल लिगको उपाधि कर्णाली यश्विजले जितेको छ । दशरथ रंगशालाको कभर्डहलमा आज भएको खेलमा कर्णालीले फाइनलमा ललितपुर क्विन्सलाई ३-२ सेटले हराएको हो । 

खेलको पहिलो सेट र दोस्रो सेटमा जित दर्ता गरेपछि कर्णाली  २-शून्यको सहज अवस्थामा पुगेको थियो । सुरुवातबाटै अग्रता बनाएको कर्णालीले १५-११ ले अघि रहँदै २५-१७ को जित निश्चित गर्यो । 

दोस्रो सेटमा पनि कर्णालीले ललितपुरलाई हाबी हुन दिएन। उसले १६-९ को अग्रता बनाएर २५-२० को जित दर्ता गरेको हो। तेस्रो सेटमा भने ललितपुरले नाटकीय कमब्याक गर्यो। प्रतिस्पर्धात्मक सुरुआत भएको सेटमा ललितपुरले १५-७ र १९-९ को अग्रता बनाएको थियो । 

कर्णालीको कमब्याकको कुनै प्रयास सफल हुन नसकेपछि २५-१२ को फराकिलो अन्तरले पराजित हुन पुग्यो। खेलमा पुनरागमनको लागि उसले डिफेन्स र अट्याकमा व्यापक सुधार गर्नु परेको थियो । कर्णालीले कमजोर लय कायमै राखेपछि चौथो सेटमा ललितपुर २५-१८ को जित निकाल्न सफल भयो । 

निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको अन्तिम सेटको मध्यान्तरमा ललितपुर ८-६ ले अघि थियो । त्यसपछि ११-११ मा ललितपुरलाई भेटेको कर्णाली १५-१३ को जितसहित च्याम्पियन बनेको हो । 

कर्णालीले प्रतियोगिताका सबै खेलमा जित दर्ता गरेको थियो । कर्णालीमा अनुबन्ध भएका नेपाली खेलाडी कमै अनुभवी भए पनि उसले उपाधि जित्यो। कर्णालीले लिग चरणको खेलमा पनि ललितपुरलाई हराएको थियो।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement