लुम्बिनी लायन्सको कन्सल्ट्यान्ट प्रशिक्षकमा शक्ति गौचन नियुक्त

आश्विन १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
लुम्बिनी लायन्सको कन्सल्ट्यान्ट प्रशिक्षकमा शक्ति गौचन नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिगको फ्रेन्चाइज क्लब लुम्बिनी लायन्सले कन्सल्ट्यान्ट प्रशिक्षकमा शक्ति गौचनलाई नियुक्त गरेको छ। क्लबले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर प्रशिक्षक नियुक्त गरेको जानकारी दिएको हो ।

शक्तिले लुम्बिनीसँग एक वर्षको सम्झौता गरेका छन् भने यो सम्झौता थप हुनसक्ने क्लबले जानकारी दिएको छ । नेपाली सिनियर टिमबाट लामो समय खेलेका शक्तिले आफ्नै ठाउँको क्लबमा अनुबन्ध हुँदा खुसी लागेको बताए ।

क्लबले चाँडै मुख्य प्रशिक्षक पनि नियुक्त गर्ने जानकारी दिएको हो । नेपाल प्रिमियर लिगको अक्सन भोलि हुँदैछ । नेपाल क्रिकट संघ क्यानले अक्सनका लागि नेपाली खेलाडीको ड्राफ्ट सार्वजनिक गरिसकेको छ ।

ड्राफ्टमा ए श्रेणीमा २७ खेलाडी रहेका छन् भने श्रेणी बीमा ७७ जना खेलाडी रहेका छन् । लिगका लागि कुल ४ सय २६ खेलाडीले आफ्नो नाम दर्ता गराएकामा त्यसबाट एनपीएल तयारी समितिले १ सय ४२ खेलाडी छनोट गरेर अक्सनका लागि चयन गरिएको हो । अक्सनको लागि पर्स मनि ९० लाख राखिएको छ ।

एक टिमले ९० लाखसम्म खर्च गर्न पाउने लिमिट तोकिएको हो । त्यसमा ए श्रेणीका तीन, बी श्रेणीका चार र सी श्रेणीका तीन खेलाडी राख्नुपर्नेछ । क्यानका अनुसार ए, बी र सी श्रेणीको आधारमा मूल्य क्रमशः १०, ५ र दुई लाख रुपैयाँ रहेको छ ।

एक टिमले १६ जना खेलाडी सम्मिलित स्क्वाड बनाउनु पर्नेछ । त्यसमा १२ जना नेपाली खेलाडी रहनेछन् । १२ मध्ये १० खेलाडी अक्सनबाट आउने छन् । सबै टिमले एक–एक जना मार्की खेलाडी यसअघि नै छनोट गरिसकेका छन् । अब सबै टिमले एक जना लोकल आइकन खेलाडी राख्नुपर्ने क्यानले नियम बनाएको छ ।

हरेक टिममा चार जना विदेशी खेलाडी हुनेछन् । विदेशी खेलाडीमा पनि एक जना एसोसिएट देशको खेलाडी हुनपर्ने छ। यसअघि सुदूरपश्चिम र कर्णालीले भने मुख्य प्रशिक्षक घोषणा गरिसकेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement