काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का लागि ए श्रेठीका खेलाडी अक्सनको आधार मूल्य १० लाख रुपैयाँ तोकिएको छ । यसैगरी, बी श्रेणीका खेलाडीको आधार मूल्य ५ लाख रुपैयाँ रहेको छ भने सी श्रेणीबाट छानिएका खेलाडीको आधार मूल्य २ लाख रुपैयाँ रहेको छ ।
एनपीएलका लागि नेपालभरका ४ सय २६ खेलाडीले नाम दर्ता गराएका छन् । नेपाल क्रिकेट संघको आयोजनामा यही मंसिर १५ देखि पुष ६ गते सम्म काठमाडौंमा हुने लिगका लागि खेलाडीले नाम दर्ता सम्पन्न भएको जनाएको छ ।
'असोज ५ गते दर्ता प्रक्रिया सुरु भई असोज १२ सम्ममा ४ सय २६ नेपाली खेलाडीले आफ्नो नाम दर्ता गराका हुन्' क्यानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
दर्ता भएका ४ सय २६ खेलाडीबाट नेपाल प्रिमियर लिग तयारी समितिले अक्सनमा सहभागी हुने १ सय ४२ खेलाडीको सूची समेत सार्वजनिक गरेको छ। सूचीको ए श्रेणीमा २७, बी श्रेणीमा ३८ र सी श्रेणीमा ७७ खेलाडी रहेका छन् । प्रिमियर लिगमा सहभागी ८ टिमले यिनै खेलाडीमाथि रकम लगाउनेछन् र आफ्नो टिममा भित्र्याउनेछन् । प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीहरुको अक्सन असोज २० गते काठमाडौंमा हुनेछ ।