काठमाडौं । क्रिकेटर दीपेन्द्रसिंह ऐरी विश्व अलराउन्डर वरियतामा पुरुष व्यक्तिगततर्फ दोस्रो स्थानमा पुगेका छन् । उनी चार स्थान सुधार गर्दै दोस्रो स्थानमा पुगेका हुन्।
आईसीसीले पछिल्लो पटक सार्वजनिक गरेको वरियतामा दिपेन्द्र टी-२० क्रिकेट वरियताको दोस्रो स्थानमा उक्लिएका हुन्। दिपेन्द्र यसअघि छैटौं स्थानमा थिए। उनी लामो समययता विश्व वरियताको शीर्ष १० मा पर्न सफल भइरहेका छन्। तर उनको यो वरियता हालसम्मकै उच्च हो।
दिपेन्द्रले नेपालका लागि अहिलेसम्म ७० टी-२० आई खेलेका छन्। उनले एक हजार ६ सय ९४ रन बनाएका छन् भने ४५ विकेट लिएका छन्।
टी-२० अलराउन्ड वरीयताको शीर्षस्थानमा इंग्ल्यान्डका लियम लिविनस्टोन छन्। उनी यसअघिको वरियतामा पनि शीर्षस्थानमा थिए। यसअघि दोस्रो स्थानमा रहेका अस्ट्रेलियाका मार्कस स्टोइनिस तेस्रो स्थानमा झरेका छन् भने जिम्बावेका सिकन्दर राजा चौथो स्थानमा छन्।
श्रीलंकन अलराउन्डर वानिन्दू हसरंगा भने पाँचौ स्थानमा छ। अलराउन्ड बाहेक बाँकी कुनै विधामा नेपाली खेलाडी शीर्ष पाँच भित्र छैनन्।
टी-२० वरीयतामा नेपाल १७ औं स्थानमा छ।