टोरन्टो । नेपाल राष्ट्रिय क्रिकेट टोली क्यानडा भ्रमणको लागि टोरन्टो आइपुगेको छ । टिमले क्रिकेट वर्ल्ड कप लिग २ अन्तर्गत क्यानडा र ओमानसँग महत्त्वपूर्ण खेल खेल्न क्यानडा भ्रमण गरिरहेको छ ।
टिम पहिलोपटक मोंट्रियल हुँदै टोरन्टो पुगेको हो । मोंट्रियल विमानस्थलमा नेपाल टोलीलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाको क्वेबेक प्रान्तीय समितिका सदस्य दिनेश माझीले स्वागत गरे ।
टोरन्टोमा टोलीको औपचारिक स्वागत एनआरएनए क्यानडाका उपाध्यक्ष किरोज श्रेष्ठ, महासचिव चन्दा अधिकारी, क्रिकेट क्यानडाका प्रतिनिधि शाह जफर र समन्वय अधिकृत शरद मैनअलीले गरेका थिए ।
नेपाल टोलीको आगमनसँगै क्यानडामा रहेका नेपाली समुदायमा ठूलो उत्साह छ । क्यानडामा रहेका नेपालीहरूले राष्ट्रिय क्रिकेट टोलीलाई हौसला दिन विभिन्न कार्यक्रमको आयोजना गरिरहेको पनि जनाइएको छ ।