काठमाडौं । विश्वमा थोरैमात्र खेलाडी दुई खेलमा लाग्ने गरेको पाइन्छ। एक समय एउटा खेल खेलेर अर्को खेलमा लागेका खेलाडी भेटिए पनि दुवै खेललाई सँगसँगै लैजाने कमै मात्र हुन्छन्। हामी तपाईंलाई आज यस्तै एक नेपाली खेलाडीलाई खेलाडीका बारेमा बताउँदै छौं ।
टेनिस स्टार अस्ले बार्टी जस्तै दियाना बैग, युजवेन्द्र चाहल, चामिका करुणारत्ने, युवराज सिंह क्रिकेटका चर्चित खेलाडीहरु हुन् । यी खेलाडी क्रिकेट बाहेकका खेलमा पनि चर्चित रहे। अडाम लिथले म्यानचेस्टर सिटीका लागि फुटबलमात्र खेलेनन्, उनले इंल्यान्डको राष्ट्रिय क्रिकेट टिमबाट पनि खेले। नेपालमा पनि यस्ता खेलाडी छन्, तर थोरै मात्रामा ।
सातादोबाटोको एन्फा कम्प्लेक्समा जारी एन्फा महिला लिगमा पनि एक यस्तै खेलाडीलाई भेट्न सकिन्छ । उनको नाम हो यशु पाण्डे । खासमा यशु क्रिकेट खेलाडी हुन् । उनले बागमती प्रदेशबाट क्रिकेटका हरेक प्रतियोगिता खेल्दै आइरहेकी छन् ।
यशु पाण्डेले प्रधानमन्त्री कप महिला क्रिकेट, ललितपुर मेयर कप र क्रिकेटका अन्य प्रतियोगिता खेल्न थालेको लामै समय भयो । क्रिकेटमा पनि फिटनेस चाहिने भएपछि उनी फिटनेसका लागि फुटसल खेल्ने गर्छिन्। वर्षामा क्रिकेटका प्रतियोगिता नहुने भएकाले दुई महिना अघिमात्र संकटा क्लबको एकेडमीमा भर्ना भएर फुटबल खेल्न थालेकी छन्। आज उनले एन्फा महिला लिगका खेलमा पनि समय पाइरहेकी छन् ।
यशुले लिगका सुरुआती दुई खेलमा अवसर नपाए पनि तेस्रो खेलको दोस्रो हाफमा पूरा समय खेलिन्। फुटबलबाट खेलकुद यात्रा सुरु गरेको भए पनि भविष्यमा क्रिकेटलाई नै मुख्य खेल बनाउने बताएकी यशुका लागि दुवै खेल उत्तिकै प्रिय लाग्छन् । नेपालमा महिला खेलका धेरै प्रतियोगिता नै हुँदैनन् ।
यसकारण खेलाडीको फिटनेसमा कमी त हुन्छ नै उनीहरुले कमाइ पनि थोरै हुने गरेको छ। एउटा खेलको फुर्सदको समय अर्को खेलमा सदुपयोग गरेर पनि प्रतिस्पर्धात्मक बन्न सकिन्छ भन्ने उदाहरण बनेकी छन् यशु पाण्डे ।