एन्फा महिला लिग : त्रिभुवन आर्मी क्लबमाथि एपीएफको २-१ गोलको जित

भाद्र २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
एन्फा महिला लिग : त्रिभुवन आर्मी क्लबमाथि एपीएफको २-१ गोलको जित

काठमाडौं । एन्फा महिला लिगअन्तर्गत आजको विभागीय डर्बीमा एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई २-१ ले हराएको छ । १-० ले पछि परेको आर्मीले पुनरागमनको प्रयास गरे पनि गीता रानाले पेनाल्टीमा गोल गरेर एपीएफलाई जित दिलाइन् ।

पहिलो हाफको अधिकांश समय आर्मीका फरवार्ड अमिष कार्की, दीपा शाही र चन्द्र भण्डारीले हाई पेसमा खेल प्रस्तुत गरे पनि गोल गर्न सकेनन् । खेलको १६ औं मिनेटमा दीपाले नियन्त्रण गरेको बल चन्द्राले पोस्टअघिबाट फितलो प्रहार गरेपछि आर्मीले निकै राम्रो अवसर गुमायो ।

त्यसअघि निशा थोकरले बल क्लियर गर्दै आर्मीको दबाब कम गरेकी थिइन् । २२ औं मिनेटमा रश्मीको प्रहारलाई गोलकिपर अन्जना राना मगरले नियन्त्रणमा लिइन् । तर पहिलो हाफको इन्ज्युरी समयमा नै एपीएफ अग्रता बनाउन सफल रह्यो । अनिता बस्नेतको कर्नरलाई पोस्ट अघिका खेलाडीले नियन्त्रण गर्न नसक्दा सविताले पहिलो बारतर्फ गोल गरिन् ।

यससँगै पहिलो हाफमा आर्मी एक गोलले पछि पर्‍यो । तर दोस्रो हाफको ५७ औं मिनेटमा नै आर्मीकी विमल विकेले सुन्दर गोल फर्काइन् । विमला थापाले दिएको लामो पासलाई विमलाले बक्सभित्रबाटै गोल गरेकी हुन् । यससँसै खेल एक-एक गोलको बराबरीको अवस्थामा पुग्यो ।

दोस्रो हाफमा मात्र मैदान प्रवेश गरेकी सरु लिम्बूलाई प्रशिक्षक जिवेशकुमार पाण्डेले फरवार्डमा खेलाएका थिए । उनी मिडफिल्डर हुन् । अग्रपंतिमा रहेकी सरुले ५४ औं मिनेटमा उत्कृष्ट प्रहार गरे पनि गोलकिपर अन्जनाले रक्षा गरिन् । उनले सविता र अनिता केसीको लागि राम्रा पास मिलाइदिए पनि एपीएफले गोल गर्न सकेन । तर ६७ औं मिनेटमा पेनाल्टी बक्समा अन्जनाले अनितालाई फउल गरेपछि एपीएफले पेनाल्टीको अवसर पायो । पेनाल्टीमा डिफेन्डर गीता रानाले गोल गरेपछि एपीएफले जित दर्ता गरेको हो ।

पहिलो खेलमा संकटालाई ४-० ले हराएको आर्मी आज पराजित भएपछि उसको तीन अंक छ । यता पुलिससँग पहिलो खेलमा बराबरी गरेको एपीएफले आजको जितसँगै चार अंक बनाएको छ । लिगमा भोलि दुई खेल हुनेछन् । दिउँसो साढे १२ बजे हुने खेलमा कोशी प्रदेशले कर्णालीको सामना गर्नेछ । यसैगरी दिउँसो सवा चार बजे हुने खेलमा बागमती प्रदेशले नेपाल पुलिसको सामना गर्नेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement