एन्फा महिला लिग : त्रिभुवन आर्मी क्लबद्वारा संकटा क्लब ४-० ले पराजित

भाद्र १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
एन्फा महिला लिग : त्रिभुवन आर्मी क्लबद्वारा संकटा क्लब ४-० ले पराजित

काठमाडौं । एन्फा महिला लिगअन्तर्गत आज एन्फा कम्प्लेक्समा भएको खेलमा त्रिभुवन आर्मी क्लबले संकटा क्लबलाई ४-० ले हराएको छ । महिला लिगको पहिलो चरणको अन्तिम खेलमा आर्मीले जित दर्ता गरेको हो ।

खेल प्रतिस्पर्धात्मक बने पनि सात महिनादेखि अभ्यास गरिरहेको संकटा क्लबले गोल भने गर्न सकेन । उपाधि लक्ष्यसहित लिगमा होमिएको आर्मीले भने खेलको १९ औं मिनेटमा नै पहिलो गोल गर्‍यो । सावित्रीदेवी मगरको गोलसँगै आर्मीले अग्रता लिएको हो । पहिलो हाफमा संकटाका प्रशिक्षक रविन्द्र सिलाकारले तीन खेलाडी परिवर्तन गरेको भए पनि उनको रणनीति सफल बन्न सकेन ।

बरु खेलको ६२ औं मिनेटमा आर्मीले अग्रता दोब्बर पार्‍यो। यसपटक विमला चौधरीको कर्नर प्रहार सिधै गोलमा परिणत भएको थियो। यसैगरी, अनिता लम्जेलले खेलको ७७ औं मिनेटमा गोल गरिन्।

यता, संकटाकी डिफेन्डर अनुश्री थेवेबाट आत्मघाती गोल भएपछि आर्मीले एक गोल कोसेली पाएको थियो। समग्रमा चार-शून्यको जितसहित सुखद् सुरुआत गरेको आर्मीले तीन अंक जोडेको हो। लिगअन्तर्गत भदौ २२ गते दशरथ रंगशालामा हुने भनिएको आर्मी र एपीएफको खेल एन्फा कम्प्लेक्समा नै हुने अखिल नेपाल फुटबल संघ एन्फाले जानकारी दिएको छ।

लिगको दोस्रो चरणका खेल भोलिदेखि सुरु हुँदैछन्। भोलि दुई खेल हुनेछन्। दिउँसो साढे १२ बजेको खेलमा बागमती प्रदेशले कोशीको सामना गर्नेछ। त्यसैगरी, सवा चार बजे वालिङ नगरपालिकाले कर्णाली प्रदेशको सामना गर्ने छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.