विश्व खेलकुदको महाकुम्भ : पेरिस ओलम्पिकको रोचक पाटो !

श्रावण २८, २०८१ |विनयज्योति सापकोटा
विश्व खेलकुदको महाकुम्भ : पेरिस ओलम्पिकको रोचक पाटो !

काठमाडौं । अमेरिकाले सर्वाधिक पदक जितेको पेरिस ओलम्पिकको झन्डा अमेरिकी कलाकार टम क्रुजले लस एन्जलस पुर्‍याएसँगै विश्व खेलकुदको महाकुम्भ सकिएको छ । १६ दिन लामो ओलम्पिकमा सेन नदीको प्रदूषण, बक्सिङमा लैंगिक विवाद, चिनियाँ खेलाडीको मेडल सेलिब्रेसन र युसुफ डिकेचको चर्चा विश्वभर नै रह्यो । 

यस वर्ष फ्रान्सको पेरिसमा आयोजना गरिएको ओलम्पिकको आलोचना र चर्चा उत्तिकै रहे । फ्रान्सकी खेलकुदमन्त्री एमेलि उडिया क्यास्टि्रया सेन नदीको पानी स्वच्छ भन्ने सन्देश दिन आफैँ नदीमा पौडी खेलिन् । यद्यपि प्रतियोगिताका बेला नदी उनले भनेजस्तै स्वच्छ रहन सकेन । सोहीकारण ट्रायथलनको प्रतियोगिता नै सार्नुपर्ने अवस्था आइपर्‍यो । 

आधुनिक ओलम्पिकको इतिहासमै पहिलोपटक सेन नदीको लामो र फराकिलो तटमा उद्घाटन समारोह आयोजना गरिएको थियो, त्यो पनि दिउँसो । पहिलेका ओलम्पिकभन्दा फरक शैलीको प्रस्तुति भए पनि वर्षाले त्यसलाई असर गर्‍यो । यस्तै, महिला र पुरुष खेलाडीको समान सहभागिता भएको पहिलो पटक हो । इटालियन महिला बक्सिङ खेलाडी एन्जेला कारिनीले आफ्नी प्रतिद्वन्द्वी अल्जेरियाकी इमान खलिफ पुरुष भएको आरोप लगाइन् । त्यसपछि विश्वभर नै उनको सहभागितालाई लिएर प्रश्न र विभिन्न बहस गरिए । सुटिङमा रजत विजेता टर्कीयेका युसुफ डिकेचको जति चर्चा त कुनै पदकको भएन । 

व्यावसायिक उपकरणविना, एक हात खल्तीमा राखेर सुटिङ गर्ने उनको शैली विश्वभरका मिम मेकरका लागि कन्टेन्ट बन्यो । त्यतिमात्र होइन, स्वदेशमा उनको भव्य स्वागत पनि भयो  । पहिलो पटक हिपहप डान्सलाई ओलम्पिकमा सहभागी गराइयो । क्युबाका मिलान लोपेज लगातार पाँच ओलम्पिकमा स्वर्ण जित्ने कीर्तिमानी खेलाडी बने, जुन माइकल फेल्प्सको कीर्तिमानी बराबरी भयो । पोल भल्टमा नयाँ विश्व कीर्तिमान बन्यो । इतिहासमै पहिलो पटक सबै खेलाडीले १० सेकेन्डभित्रै समय मिटर दौड पूरा गरे । तीन स्वर्णसहित चार पदक जितेकी अमेरिकी जिम्न्यास्ट सिमन बाइल्स यो ओलम्पिकमा प्रेरणाको पात्र बनिन् । उनले अन्त्यमा सुन्दर सन्देश दिएकी छन् ।

चिनिया रजत विजेता जिम्यान्सटिक खेलाडी चाउ याक्विनको मेडल सेलिब्रेसनले धेरैको ध्यान खिच्यो । मेडल पाएपछि के गर्ने भन्ने उनले चाल पाइनन् । सँगैमा स्वर्ण र कांस्य जितेका इटालियन खेलाडीले मेडल टोकेको देख्दा उनी छक्क परिन् र त्यही अभिनय गरिन् । यो दृश्य सामाजिक सञ्जालमा धेरैले मन पराएका छन् । चीन त्यही देश हो जसले अन्तिममा शीर्षस्थान बचाउन सकेन ।

उसले ४० स्वर्ण जित्यो, अन्तिम खेल-महिला बास्केटबलमा स्वर्ण जितेर अमेरिकाले शीर्षस्थानमा कब्जा जमायो । ओलम्पिकको समापन समारोहको एउटा प्रस्तुति भने फिल्मी शैलीमा प्रस्तुत गरियो । मिसन इम्पोसिबल फिल्मको शैलीमा कलाकार टम क्रुज आकाशबाट रंगशालामा झरे अनि ओलम्पिकको झन्डा लिएर मोटरसाइकलमा फर्किहाले । 

झन्डालाई विमानस्थलबाट सिधै अमेरिकाको लस एन्जलस पठाइएको थियो । ओलम्पिकको झन्डा हस्तान्तरणलाई नयाँ ढंगबाट देखाइएको थियो । खेलाडीहरूले ओलम्पिक ज्वाला निभाए, अनि पेरिस ओलम्पिक समाप्त भयो ।


Image

विनयज्योति सापकोटा

सापकोटा कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement