काठमाडौं । चर्च ब्वाइज युनाइटेडले एएफसी च्यालेन्ज लिग प्रारम्भिक चरणमा भोलि भुटानको पारो एफसीसंग प्रतिस्पर्धा गर्दै छ । घरेलु टोलीले खेल हुने दशरथ रंगशालामा अफिसियल प्रशिक्षणको अवसर भने पाएन ।
अघिल्लो दिन दुवै टिमले खेल स्थलमा प्रशिक्षण गर्न पाउँछन् । तर चर्च ब्वाइजले दशरथ रंगशालामा नभएर सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अभ्यास गरेको हो । अनन्त तामाङको टोलीले अधिकांश समय एस्ट्रो टर्फमा नै प्रशिक्षण गरिरहेको छ । आज भएको प्रि-म्याच कन्फरेन्समा प्रशिक्षक बालगोपाल महर्जनले संरचना अभावमा अभ्यासमा समस्या भइरहेको प्रतिक्रिया दिनुभयो । कप्तान अनन्तले दशरथ रंगशालामा खेलिरहेका कारण त्यति धेरै असर नपर्ने उल्लेख गर्नुभयो ।
पारो एएफसीका प्रशिक्षक पुष्पलाल शर्माले नेपालको पिचको आलोचना गर्नुभएको छ । हिजो अभ्यासका लागि पारो भद्रकालीस्थित आर्मी मैदान पुगेको थियो । त्यहाँ मैदान तयार नभएपछि रंगशालामा नै अभ्यास गरेको थियो । शर्माले रंगशालाको स्तरमा असन्तुष्टि व्यक्त गर्नुभयो । पारोमा आबद्ध जापानका स्टार केसुके होन्डाले पनि नेपालको पिच खराब रहेको प्रतिक्रिया दिनुभएको थियो ।
एघार विदेशी खेलाडीसहित नेपाल आएको पारो बलियो छ । चर्च ब्वाइजमा तीन विदेशी र अधिकांश राष्ट्रिय टिमबाट खेल्ने खेलाडी समावेश छन् । पारोले अघिल्लो वर्ष दशरथ रंगशालामा नै एएफसी कप पहिलो चरणमा मच्छिन्द्र क्लबसँग तीन-दुई गोलको हार बेहोरेको थियो ।
चर्च ब्वाइजले जीत हात पारे समूह चरणमा प्रवेश पाउनेछ । खेल साँझ ६ बजे सुरु हुनेछ ।