युरो कपको उपाधिका लागि आज राति इंग्ल्यान्ड र स्पेन भिड्दै

असार ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
युरो कपको उपाधिका लागि आज राति इंग्ल्यान्ड र स्पेन भिड्दै

काठमाडौं । युरो कपको फाइनलमा आज राति पौने १ बजे उपाधिको लागि इंग्ल्यान्डले स्पेनको सामना गर्दैछ । युरो कपमा इंग्ल्यान्ड पहिलो पटक घरेलु मैदानबाहिर उपाधिको खोजीमा रहँदा स्पेन भने सर्वाधिक तीन पटक च्याम्पियन बन्ने लक्ष्यमा रहने छ ।

सन् २०१२ को उपाधि जितेपछि स्पेनिस फुटबल समर्थकको लागि यो टिमले धेरै राम्रो खेलहरु दिन सकेको थिएन । यसैकारण स्पेनलाई बल पोसेसन मात्र राख्ने तर नजित्ने टिमको ट्याग लाग्दै आइरहेको छ । तर अहिलेको स्पेन त्यस्तो छैन । जारी युरो कपमा स्पेनले समूह चरणदेखि सेमिफाइनलसम्म नै अनुशासित, फाइटिङ स्पिरिटले भरिएको, आक्रामक र फरक शैलीको खेल प्रस्तुत गरिरहेको छ ।

मिडफिल्डमा रोड्रि र पेड्री, डिफेन्समा कुकुरेया मात्र होइन फरवार्डमा निको विलियम्स र लमी यमाल भएकाले पनि स्पेन विगतमा भन्दा फरक छ । यी युवा खेलाडी आक्रामक फुटबल खेल्ने ज्ञान र सिल्पका खानी हुन् । त्यसैले त स्पेनले आफ्नो यात्रामा इटाली, आयोजक जर्मनी र फ्रान्सलाई घर फर्काएको छ । त्यो पनि सिधा-सिधा उत्कृष्ट जित दर्ता गरेर । यी जितहरुलाई पृष्ठभूमिमा राख्दै स्पेनिस डिफेन्डर कुकुरेयाले ला रोजाले उपाधि जित्ने दाबी गरिरहेका छन् ।

यता इंग्ल्यान्डले यो सिजन जसोतसो जित मात्र दर्ता गरिरहेको छ । तर फाइनलसम्म पुग्न जित नै काफी रह्यो । समूह बीमा दुई बराबरी र एक खेलमा जितपछि उसले नकआउटमा स्थान बनायो । फाइनलसम्मको यात्रामा उसले सात गोल गरेको छ । हेरी केनले तीन र युवा स्टार जुड बेलिङ्घमले दुई गोल गरेका छन् । यी दुईसँगै स्टार खेलाडी फिल फोडेन आजको खेलमा पनि केन्द्रमा रहनेछन् ।

फाइनल अगाडि इंग्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटीले परिकथामा विश्वास नगर्ने र सपनामा विश्वास गर्ने बताएका छन् । फुटबललाई आदर गर्दै मैदानमा उत्कृष्ट ९० मिनेट बिताउने उनको भनाइ छ । आजको खेलमा विंगर विलियम्स र लमललाई रोक्न इंग्लिस प्रशिक्षकले मार्क गुहेइ र केइल वाल्करलाई कसरी उतार्छन् भन्ने कुरा महत्वपूर्ण हुनेछ । केन, बुकायो साका, बेलिङ्घम र फोडेनको सामानान्तर आक्रामणलाई रोक्न स्पेनिस रक्षापंक्ति नाचो, लापोर्ट र कुकुरेयाले कस्तो खेल्छन् होला, यो हेर्न लायक हुनेछ ।

इतिहास हेर्दा सन् १९२९ मा स्पेन र इंग्ल्यान्डबीच पहिलो खेल भएको थियो । त्यसयता यी दुई टिमबीच २७ खेल हुँदा इंग्ल्यान्ड १४ खेलमा विजयी भएको छ । १० खेल स्पेनले जितेको छ । तर युरो कपका खेलहरुमा भने सधैँ स्पेन पराजित भएको छ । इंग्ल्यान्डलाई आजको दिन पनि गज्जबको रहने अनुमान छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.