आईसीसी टी-ट्वेन्टी विश्वकपमा आज पाकिस्तान र क्यानडाबीच प्रतिस्पर्धा हुँदै

जेष्ठ २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
आईसीसी टी-ट्वेन्टी विश्वकपमा आज पाकिस्तान र क्यानडाबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । आईसीसी टी-ट्वेन्टी विश्वकपमा आज पाकिस्तान र क्यानडाबीच प्रतिस्पर्धा हुँदै छ । नासाउ काउन्टी स्टेडियम, न्युयोर्कमा खेल नेपाली समयअनुसार राति सवा ८ बजे सुरु हुने छ ।

सुरुवाती दुई खेलमा अमेरिका र भारतसँग पराजित साविक उपविजेता पाकिस्तानलाई सुपर ८ मा पुग्ने सम्भावनालाई जीवित राख्न आज जित्नैपर्ने दबाब छ । आज पराजित भए पाकिस्तान प्रतियोगिताबाट बाहिरिने छ । आफ्नो पहिलो खेलमा अमेरिकासँग पराजित भए पनि पुनरागमन गर्दै दोस्रो खेलमा टेस्ट टोली आयरल्यान्डलाई हराएको क्यानडा पाकिस्तानलाई पराजित गर्दै सुपर ८ मा पुग्ने सम्भावनालाई बढाउने लक्ष्यमा हुनेछ ।

यो क्यानडाको डेब्यू टी-ट्वेन्टी विश्वकप हो भने पाकिस्तान सन् २००९ को च्याम्पियन हो । पाकिस्तान र क्यानडाबीच हालसम्म २ ओडीआई र एक टी-ट्वेन्टी आईसहित कुल ३ वटा अन्तर्राष्ट्रिय खेल भएका छन् । यी सबै खेल पाकिस्तानले जितेको छ । नासाउ काउन्टीको पिचमा पाकिस्तानको फास्ट बलिङ आक्रमणसामु क्यानडाका ब्याटरहरुलाई केही चुनौती हुन सक्ने भए पनि आरोन जोन्सन र निकोलस किर्टन उत्कृष्ट फर्ममा छन् ।

पाकिस्तानका लागि कप्तान बाबर आजम, मोहम्मद रिजवान र फखर जमानको ब्याटिङ प्रदर्शन उल्लेखनीय हुने छ । तर यो पिचमा ब्याट्सम्यानले निकै कठिनाइको सामना गर्नु परेको छ । त्यसकारण लो स्कोरिङ पिचमा टस जित्ने टोलीले पहिला फिल्डिङ रोज्न सक्छ । आज न्युयोर्कको मौसम सफा रहने अनुमान छ । खेल अवधिभर यहाँको तापक्रम २४ देखि १७ डिग्री सेल्सियसबीच रहन सक्छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.