काठमाडौं । भारतमा जारी एसएमएस फ्रेन्डसिप कप टी-ट्वेन्टी सिरिजमा नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ। आजको खेलमा भारतको बरोडालाई २७ रनले हराउँदै नेपाल सिरिजको फाइनलनजिक पुगेको हो। खेलमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ५६ रन बनाएको थियो।
गुजरातको वापीस्थित साई मेघपन मैदानमा नेपालले पावर प्लेमा नै दुई विकेट गुमाएको थियो । ओपनर कुशल भुर्तेल र आशिफ शेख ९-९ रनमा आउट भए । चौथो नम्बरमा मैदान प्रवेश गरेका रोहित पौडेल १७ रन जोड्दै रन आउट भए । उनी आउट हुँदा नेपाल ४३ रन बनाएको कमजोर अवस्थामा थियो । अनिल शाह र गुल्सन झाले ३५ रनको साझेदारी गरे । छक्का प्रहारको प्रयासमा अनिल २५ रन बनाएर क्याचआउट भए । गुल्सनले १५ रन जोडे ।
गुल्सन आउट हुँदा नेपालले पाँच विकेट गुमाएर ८२ रन मात्र बनाएको थियो । सन्दीप जोरा र कुशल मल्लको ४७ रनको साझेदारीपछि नेपालले सय रनको आँकडा पार गरेको हो । सन्दीपले २९ रनको योगदान गरे, कुशल मल्लले अविजित ४० रन बनाएका थिए । नेपालविरुद्ध बाबा खानले दुई विकेट लिए भने मोहिन मोङ्गा र परीक्षित पतिदरले एक-एक विकेटको योगदान गरे।
जवाफमा बरोडाले २० ओभरमा सबै विकेट गुमाएर एक सय २९ रनमात्र बनाउन सक्यो। बरोडाको शीर्ष क्रम नेपालसामु टिक्न सकेन। किनित पि शून्यमा र मोहित तीन रन बनाएर सोमपालको हातबाट आउट भए। अमित पासी १४ रन बनाएर आउट भए। परीक्षित शून्यमा आउट हुँदा बरोडाले २२ रनमा नै पाँच विकेट गुमाएको कमजोर अवस्थामा पुगेको थियो।
भानु पनिया ३८ रन बनाएर अभिनास बोहराको शिकार भए। अन्तिम बलमा आउट भएका बाबाले २७ रन बनाएका थिए। विष्णु सोलाङ्कीले पनि २५ रनको योगदान गरे। नेपालका लागि करण केसीले तीन विकेट लिए भने सोपाल कामीको नाममा दुई विकेट रहृयो। गुल्सन कुमार झा र दिपेन्द्र सिंह ऐरीले पनि एक–एक विकेट लिए।
नेपालले सिरिजमा लगातार दोस्रो जितसँगै चार अंक बनाएको छ। हिजो गुजरातले बरोडालाई पाँच विकेटले हराएको थियो। नेपालले अब भोलि गुजरात र शुक्रबार बरोडासँग खेल्नेछ। उत्कृष्ट दुई टिमबीचको फाइनल खेल आइतबार हुनेछ।