भलिबलप्रति खेलाडीको आकर्षण

चैत्र ९, २०८० |प्रदीप लेखी
भलिबलप्रति खेलाडीको आकर्षण

काठमाडौं । नेपालमा धेरै आकर्षण भएको फुटबलका लिग तथा प्रतियोगितामा एन्फाले ध्यान नदिँदा खेलाडी भविष्य खोज्दै विदेश पलायन हुने क्रम जारी छ । तर १० वर्ष अघि खेलाडीको खडेरी भोगिरहेको भलिबलमा भने आकर्षण बढ्न थालेको छ । हरेक प्रतियोगितामा विभागीय बाहेकका टिममा नयाँ खेलाडीको आगमन भइरहेको छ । यसको ज्वलन्त उदाहरण बन्यो- त्रिपुरेश्वरस्थित खेलकुद परिषद्को कभर्ड हलमा जारी एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले समयमा फुटबल प्रतियोगिता सञ्चालन गर्न नसक्दा एक वर्षमै राष्ट्रिय टिमका २८ खेलाडी विदेश पलायन भइसकेका छन्, जसका कारण राष्ट्रिय टिममा खेलाडीको खडेरी देखिन थालेको छ । तर आर्थिक रुपमा निकै कमजोर भलिबलले भने प्रायोजक खोजेर राष्ट्रिय लिग तथा मोफसलका प्रतियोगिता गरिरहेको छ । बेला-बेला खेलाडीलाई अन्तर्राष्ट्रिय म्याच एक्सपोजर पनि दिइरहेको छ । यसले गर्दा भलिबलमा युवा खेलाडीको आकर्षण निकै बढेको पूर्वकप्तान भरत शाहको भनाइ छ ।

संघ आर्थिक रुपमा सबल हुँदैमा खेलको विकास हुँदैन । त्यसका लागि भिजन भएको कार्यसमिति र नि:स्वार्थ काम गर्ने पदाधिकारी पनि चाहिन्छ । भलिबल संघ आर्थिक रुपमा कमजोर भए पनि सामूहिक भावना र नि:स्वार्थ रुपमा काम गरेकै कारण प्रायोजकहरु पनि आकर्षित भइरहेको नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दको भनाइ छ ।

एकताका निकै लोकप्रिय भए पनि फुटबल, क्रिकेटजस्ता खेलको छायामा पर्‍यो भलिबल । तर, २०७४ जेठ ८ गते राष्ट्रिय खेल घोषणा भएपछि पुनः भलिबलप्रति खेलाडीको आकर्षण बढ्न थाल्यो । तर राष्ट्रिय खेल घोषणा भएको आठ वर्ष बितिसक्दा पनि यसको विकासमा सरकारको ध्यान पुग्न नसकेको अध्यक्ष चन्दको भनाइ छ ।

भलिबल संघले एन्फाजस्तो अन्तर्राष्ट्रिय संघ (एफआईभीबी) र काभाबाट कुनै सहयोग पाउँदैन । तैपनि, प्रायोजक र दाताकै भरमा राष्ट्रिय टिमका खेलाडीलाई तलब दिने गरेको छ । खेलाडीलाई म्याच एक्सपोजरसहित नियमित प्रतियोगिता आयोजना गरिरहेको छ । यसकारण पनि भलिबलमा भविष्य खोज्ने खेलाडी बढिरहेको बूढानीलकण्ठ भलिबल क्लबका अभिषेक थापा बताउँछन् ।

पछिल्लो समय भलिबलले देशका लागि थुप्रै पदक दिलाइसकेको छ । पुरुषभन्दा अझ महिला भलिबलले सेन्ट्रल जोनमा स्वर्ण नै हात पारिसकेको छ भने दक्षिण एसियाली खेलकुदमा रजत र कास्य जितिसकेको छ । त्यसैले राष्ट्रिय खेल भलिबललाई साँच्चिकै विकास गर्ने हो भने सरकारले यो खेलमा लगानी बढाउनुको विकल्प छैन ।


Image

प्रदीप लेखी

लेखी कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।