काठमाडौं । ललित स्मृति एन्फा अन्डर एटिन लिग अन्तर्गत आज भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले सातदोबाटो युथ क्लबलाई ४-१ गोलअन्तरले हराएको छ । सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले फराकिलो जित दर्ता गरेको हो ।
खेलको ३६ औं मिनेटमा रविन घलेले गोल गरेर आर्मीलाई सुरुवाति अग्रता दिलाएका थिए । त्यसैगरी, ४३ औं मिनेटमा भुवन कामीले अग्रता दोब्बर बनाएका हुन् । अनुभव पुरिको भली प्रहार गोलकिपरले क्लियर गर्न नसकेपछि भुवनले गोललाई नजिकैबाट सहजै स्कोर गरे । इन्ज्युरी समयमा अनुभवले सेन्टर लाइन नजिकैबाट दिएको छड्को पासमा भुवनले अफसाइड लाइन ध्यानमा राखेर गोल गरेका हुन् ।
भुवनले व्यक्तिगत अर्को गोल थपेपछि आर्मी पहिलो हाफमा नै तीन-शून्यले अघि थियो । दोस्रो हाफमा पनि आर्मीको टोलीले सानदार प्रदर्शन कायम राख्न सक्यो । रोहित श्रेष्ठले ६६ औं मिनेटमा गोल गरेपछि भने आर्मी चार गोलको अग्रताको स्थानमा पुगेको हो । यसपटक रविन घलेले निकै संघर्षसाथ पोस्टअघि पुर्याएर गरेको प्रहार गोलकिपरले बचाएका थिए । रिबाउन्ड बलमा रविनले नै पास दिएपछि रोहिलते गोल गरेका हुन् ।
यता, सातदोबाटोको तर्फबाट ८० औं मिनेटमा तेन्जिङ तामाङले गोल गरेसँगै आर्मी क्लिन सिट राख्न असमर्थ भयो । आजको जितसागै आर्मीले २० खेलबाट १८ अंक बनाएको छ । लिगमा तुलनात्मक सबैभन्दा कमजोर रहेको सातदोबाटोको २० खेलबाट ११ अंक मात्र छ ।