विद्यार्थी अभावमा देशभरका क्याम्पस रित्तिँदै, ५ सय ५ क्याम्पस बन्द हुने अवस्थामा

पुस ८, २०८१ |नारायण किलम्बू
विद्यार्थी अभावमा देशभरका क्याम्पस रित्तिँदै, ५ सय ५ क्याम्पस बन्द हुने अवस्थामा

काठमाडौं । उच्चशिक्षा अध्ययन गर्ने विद्यार्थी घट्दै गएपछि देशभरका ५ सय ५ वटा क्याम्पस बन्द हुने अवस्थामा पुगेका छन् । विश्वविद्यालय अनुदान आयोगको हालै सार्वजनिक प्रतिवेदन अनुसार ती क्याम्पसमा एक सय विद्यार्थी पनि छैनन् । राजनीतिक दबाब र पहुँचका भरमा मनपरी सम्बन्धन बाडिँदा यस्तो स्थिति आएको जानकारहरुको भनाइ छ ।

तीन दशकअघिसम्म विद्यार्थीको चाप थेगिनसक्नु हुने भक्तपुर सानोठिमीको आदर्श बहुमुखी क्याम्पस अहिले विद्यार्थी खोज्नुपर्ने अवस्थामा छ, जहाँ अहिले ४७ जनामात्र विद्यार्थी छन् । त्यसैगरी ललितपुरको आदर्श कन्या क्याम्पसमा ४१, नुवाकोटको अमरज्योति क्याम्पसमा ५४, पर्वतको अन्नपूर्ण सामुदायिक क्याम्पसमा १५ तथा सुनसरीको विजयपुर कलेजमा १३ विद्यार्थी छन् ।

उच्च शिक्षा अध्ययनका लागि धेरै विद्यार्थी विदेशिँदाको प्रत्यक्ष मार क्याम्पसहरुमा परेको छ । मुलुकका विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठान गरी २२ वटा विश्वविद्यालयमा १४ सय २३ उच्चशिक्षा प्रदायक शिक्षण संस्थामध्ये ५ सय ५ वटा क्याम्पसहरुमा एक सय पनि विद्यार्थी छैनन् । 

विद्यार्थी न्यून भइ बन्द हुने अवस्थामा पुगेका अधिकांश क्याम्पस त्रिवि अन्तगर्तका छन् । विश्वविद्यालयहरुको नियामक निकाय विश्वविद्यालय अनुदान आयोगको हालै सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार १९ वटा आंगिक, १ सय ७८ वटा सामुदायिक र ३ सय ८ वटा निजी क्याम्पस बन्दको संघारमा पुगेका छन् ।

राजनीतिक दबाब र पहुँचका आधारमा जथाभावी सम्बन्धन दिइनु तर विद्यार्थी भन्ने घट्दै जाँदा क्याम्पसहरुमा यो अवस्था आएको हो । हिमाली र पहाडी क्षेत्रका विद्यार्थीहरु सुविधासम्पन सहरतिर जान थालेपछि ती क्षेत्रका क्याम्पसमा विद्यार्थी कम भएका छन् भने सहरमा समेत विद्यार्थी घट्दै गएका छन् । कक्षा १२ सकिएलगत्तै उच्चशिक्षाका नाममा विदेशिनेको संख्या बढ्नु, विश्व बजारको माग अनुरुपका राम्रा विषय पठनपाठन नुहुनु, दक्ष शिक्षकको अभाव तथा गुणस्तर खस्किनु लगायतका कारण उच्चशिक्षा प्रदायक संस्था संकटमा पर्न थालेका हुन् । 

त्यसो त विद्यार्थी अभावमा धेरै क्याम्पस बन्द हुने अवस्थामा पुगेपछि विश्वविद्यालय अनुदान आयोगले प्रोत्साहनसहितको शिक्षण संस्था गाभ्ने नीति नै ल्याएको छ । पछिल्लो समय विद्यार्थी कम भएका २० वटा क्याम्पस एक अर्कामा गाभिएका छन् । क्याम्पसहरु एक अर्कामा गाभिन चाहेमा प्रोत्साहनस्वरुप २५ लाखदेखि त्यसभन्दा माथिको अनुदानसमेत दिन थालिएको छ ।

विद्यार्थी अभावमा क्याम्पसहरु नै बन्द हुने अवस्था आउनु नेपाली उच्च शिक्षा क्षेत्रका लागि पक्कै पनि राम्रो संकेत होइन । यसैले यो अवस्था आउन नदिन उच्चशिक्षा हासिल गरेपछि रोजगारीको अवसर सिर्जना गर्न विश्वविद्यालयहरुले पाठ्यक्रमलाई उद्यमशीलतासँग जोड्न आवश्यक छ । विश्वविद्यालयहरुले पनि नयाँ सम्बन्धनमा कडाई गर्न र विद्यार्थीको रुची अनुसारको नयाँ विषय पठनपाठन नगर्ने हो भन्ने अझै धेरै उच्चशिक्षा प्रदायक संस्थाहरु बन्द नहोलान् भन्न सकिन्न । 


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement