एसीसी यू-१९ महिला एसिया कपको उपाधि भारतलाई

पुस ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
एसीसी यू-१९ महिला एसिया कपको उपाधि भारतलाई

काठमाडौं । एसीसी यू-१९ महिला एसिया कपको उपाधि भारतले जितेको छ । आज सम्पन्न फाइनलमा बंगलादेशलाई ४१ रनले पराजित गर्दै भारत च्याम्पियन बनेको हो । भारतको जितमा गंगादी त्रिसाले शानदार अलराउण्ड प्रदर्शन गरिन् ।

मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा बंगलादेशले टस जितेर पहिला फिल्डिङ रोजेपछि सुरुवातमा ब्याटिङ गरेको भारतले २० ओभरमा सात विकेट गुमाएर १ सय १७ रन बनाएको थियो ।

त्रिसाबाहेक भारतका अन्य कुनै ब्याटरले ठूलो इनिङ खेल्न सकेनन् । त्रिसाले ४७ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ५२ रन बनाइन् । कप्तान निक्की प्रसादले १२ रन जोडिन् । मिथिला विनोदले १७ रनको योगदान गरिन् । बंगलादेशका लागि फास्ट बलर फरजाना इस्मिनले चार तथा निशिता अख्तर निशीले दुई विकेट हात पारे ।

जवाफमा बंगलादेशले १८ ओभर ३ बलमा सबै विकेट गुमाएर ७६ रनमात्र बनाउन सक्यो । बंगलादेशका लागि फाहोमिदा छोयाले १८ र जुइरिया फिरदौसले २२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् । भारतका लागि आयुषी शुक्लाले ३ तथा सोनम र पारुनिका सिसोदियाले २-२ विकेट लिए । पहिलो संस्करणको एसीसी अन्डर १९ महिला एसिया कपमा नेपाल सुपर फोरबाट बाहिरिएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.