टोटेनहम विरुद्ध आधा दर्जन गोल गर्दै लिभरपूलले बनायो चार अंकको अग्रता

पुस ८, २०८१ |खेल ब्युरो
टोटेनहम विरुद्ध आधा दर्जन गोल गर्दै लिभरपूलले बनायो चार अंकको अग्रता

काठमाडौं । इङ्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपूलले तालिकामा स्पष्ट चार अंकको अग्रता बनाएको छ । गए राति भएको खेलमा लिग लिडर लिभरपूलले टोटेनहममाथि ६–३ गोलको शानदार जित हात पारेको हो ।

टोटेनहम हट्स्पर स्टेडियममा लिभरपूलले खेल सुरू भएको २३औं मिनेटमा लुइस डियासको हेडर गोल मार्फत अग्रता लिएको थियो । उनका लागि ट्रेन्ट अलेक्जान्डर आर्नोल्डले उत्कृष्ट क्रस दिएका थिए । ३६औं मिनेटमा एलक्सिस माक आलिस्टारले हेडर गोल गर्दै अग्रता दोब्बर बनाए । ४१औं मिनेटमा जेम्स माडिसनले गोल गर्दै घरेलु टोलीको आशा जगाए । उनको सिजनको यो आठौं गोल हो । तर इन्जुरी समयमा मोहम्मद सालाहको क्रसलाई डोमिनिक सोबोस्लाइले फिनिस गरेपछि पहिलो हाफमा लिभरपूल ३-१ ले अघि रह्यो ।

५४औं मिनेटमा सालाह आफैंले गोल गरे । ६१औं मिनेटमा सोबोस्लाइले आफ्ना लागि सालाहले दिएको क्रसको ऋण तिरे । उनको सहयोगमा सालाहले व्यक्तिगत दोस्रो गोल गरेपछि आर्ने स्लटको टिम बलियो स्थितिमा पुगेको थियो । सालाहको क्लबका लागि यो ३७३औं खेलमा २२९औं गोल हो ।

७२औं मिनेटमा डेजान कुलेसेभ्स्कीले लिभरपूलसँगको दूरी ५-२ मा झारे । ८३औं मिनेटमा डोमिनिक सोलान्कीले गोल गर्दै लिभरपूललाई चुनौती त दिएका थिए तर ८५औं मिनेटमा डियासको गोलसँगै लिभरपूलले ६–३ को नतिजा सहित खेल टुंग्यायो ।

यसअघि लिगका दुई खेलमा लिभरपूलले अंक गुमाएको थियो । न्युक्यासल युनाइटेड र फुलह्यामसँग अंक बाडेको लिभरपूलले उत्कृष्ट पुनरागमन गरेको छ । शीर्ष स्थानमा रहेको लिभरपूलको १६ खेलबाट ३९ अंक छ । दोस्रो स्थानमा रहेको चेल्सिको १७ खेलबाट ३५ अंक छ । गए राति भएको खेलमा चेल्सीले एभर्टनसँग निराशाजनक प्रदर्शन गर्दै गोल रहित बराबरी खेल्यो ।