काठमाडौं । पाकिस्तानले दक्षिण अफ्रिका विरुद्धको तीन खेलको एकदिवसीय शृङ्खला ‘क्लीन स्वीप’ गरेको छ । साइम अयुबले शतक बनाएपछि पाकिस्तानले तेस्रो एकदिवसीयमा घरेलु टोलीलाई डीएलएस मेथड अनुसार ३६ रनले पराजित गरेको हो ।
जोहानेसबर्गस्थित द वन्डरर्स स्टेडियममा वर्षा प्रभावित खेलमा दक्षिण अफ्रिकाले टस जितेर पहिलो फिल्डिङ गर्ने निर्णय लियो । ४७ ओभरमा झारिएको खेलमा पाकिस्तानले नौ विकेट गुमाएर ३०८ रनको योगफल तयार पार्यो । ओपनर अब्दुल्लाह साफिक गोल्डेन डक आउट भए पनि दोस्रो विकेटका अयुब र बाबर आजामले ११४ रनको साझेदारी गरे । बाबरले ५३ रनको योगदान गरे । अयुबले १०१ रनको शानदार इनिङस खेले । ९४ बल खेलेका उनले १३ चौका र दुइ छक्का प्रहार गरे । यो शृङ्खलामा अयुबको यो दोस्रो शतक हो । उनले सिरिजको पहिलो खेलमा पनि १०९ रन बनाएका थिए ।
यस्तै, मोहम्मद रिजवानले ५३ रन थपे । सलमान आघाले ४८ र तयब ताहिरले २८ रन बनाए ।
बलिङतर्फ कागिसो राबडाले तीन विकेट लिए । तर जवाफी ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिका २७१ रनमा अल आउट भयो । हेनरिच क्लासेनले सर्वाधिक ८१ रन जोडे ।
पाकिस्तानका सुफियान मुकिमले चार विकेट हात पारे । शाहीनशाह अफ्रिदी र नसीम साहले दुई-दुई विकेट लिए ।
दक्षिण अफ्रिकाले सन २०२१ पछि घरेलु मैदानमा पाकिस्तानसँग शृङ्खला गुमाएको यो दोस्रो पटक हो । पाकिस्तानले पहिलो एकदिवसीयमा ३ विकेट र दोस्रोमा ८१ रनको जित हात पारेको थियो ।
अब यी दुईबीच २६ डिसेम्बरबाट दुई खेलको टेस्ट शृङ्खला सुरू हुनेछ । अर्को वर्ष हुने विश्व टेस्ट च्याम्पियनशिपको फाइनलमा स्थान सुरक्षित गर्न दक्षिण अफ्रिकालाई पाकिस्तान विरुद्ध एक टेस्ट जित्न आवश्यक छ ।