झापा । चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौं प्रथम झापा कपको च्याम्पियन बनेको छ । एनआरटीलाई ३-१ गोल अन्तरले पराजित गरी चर्च च्याम्पियन भएको हो । च्याम्पियन बनेको चर्च ब्वाइजले नगद १० लाख रुपैयाँ हात पारेको छ भने एनआरटीले ५ लाख रुपैयाँ पाएको छ ।
निर्धारित ९० मिनटको खेलमा चर्च ब्वाइज युनाइटेडका समिर तामाङले २९ औं मिनेटमा गोल गरे भने ४३ औं मिनेटमा अरमण्डले गोल गरी दुई-शून्यको अग्रता बनाए । तर ४५ औं मिनटमा एनआरटीका अन्जन विष्टले गोल फर्काए । दोस्रो हाफमा एनआरटीले विपक्षीको पोस्टमा आक्रमण तीव्र बनाए पनि गोल गर्न सकेन ।
काउन्टर एट्याकमा ९० औं मिनेटमा चर्चका अरमण्डले नै गोल गरी टिमलाई विजय गराए । सर्वोउत्कृष्ट खेलाडी चर्चका रोहित कार्की भए । उनले नगद १ लाख रुपैयाँ हात पारे । उत्कृष्ट गोल किपर चर्चका कृषल मोक्तान, सर्वाधिक गोलकर्ता एनआरटीका अन्जन विष्ट, झापा ट्यालेन्ट खेलाडी प्रदीप बुढाथोकी भएका छन् ।
उनीहरुले जनही ३५ हजार नगद हात पारको छन् । आजको प्लेयर अफ दी म्याच चर्च ब्वाइजका समीर तामाङ भएका छन् । उनले नगद १० हजार हात पारे । प्रतियोगितामा नेपालका ९ र भारतको एक गरी १० टिमको सहभागिता थियो । झापाको डोमालाल राजंवशी रंगशालामा मंसिर २९ गतेबाट प्रतियोगिता सञ्चालन भएको थियो ।