सम्पत्ति शुद्धीकरणमा कसरी तानिए रवि, छवि र जीबी ?

पुस ८, २०८१ |रमेश धमला
सम्पत्ति शुद्धीकरणमा कसरी तानिए रवि, छवि र जीबी ?

काठमाडौं । अवैधरुपमा सहकारीको रकम ल्याउने र वैध बनाउन निजी कम्पनीमा लगानी देखाउनेविरुद्ध पनि सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउने गरिएको छ । प्रहरीको अनुसन्धानका आधारमा रास्वपाका सभापति रवि लामिछानेसहितलाई कास्की जिल्ला अदालतमा सहकारीको रकम अपचलन गर्ने विरुद्ध दोस्रो पटक सम्पत्ति शुद्धीकरणकै अभियोग लाग्यो । अभियोग लगाइएका मध्ये चार जनाले सहकारीकै रकमबाट ३ अर्ब २५ करोडभन्दा बढी रकम लगेर निजी व्यवसाय सञ्चालन गरेको दाबी सरकारी वकिल कार्यालयले गरेको हो ।

जिल्ला सरकारी वकिल कार्यालय कास्कीले सूर्यदर्शन सहकारीको रकम अपचलन गर्ने विरुद्ध दायर गरेको छुट्टछुट्टै अभियोगमा ५ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा छ । ती पाँच जना जसले अवैधरुपमा सहकारीको रकम ल्याएर वैध देखाउन निजी कम्पनी खडा गर्नेदेखि व्यक्तिगत अपचलन गरेकोसम्मको तथ्य प्रहरी अनुसन्धानले देखाएको छ । सोही अनुसन्धानका आधारमा सरकारी वकिलको कार्यालयले अभियोग दर्ता गरेको हो । ६ वटा सहकारीबाट रकम ल्याएर अर्बाैंको कम्पनी स्थापना गर्ने पहिलो व्यक्ति हुन् गितेन्द्र बाबु अर्थात जीवी राई । जीवीले आफ्नो ११ कम्पनीमा अधिकांश पैसा सहकारीबाटै लगेका छन् । प्रहरीको अनुसन्धान अनुसार जिबी राईले अवैध रुपमा सहकारीबाट लगिएको रकमलाई वैध देखाउन कम्पनी स्थापना गरेका हुन् । त्यसरी स्थापित कम्पनी उनले विभिन्न व्यक्तिका नाममा राखेको सम्पत्ति समेत गरेर २१ वटा कारोबार शंकास्पद देखिएको छ । नेचर हब्स, नेचर नेष्ट जस्ता कम्पनी सहकारीकै पैसाले खुलेका हुन् । गोर्खा मिडिया ग्रुप जीबीको अर्को धन्दा थियो । प्रहरीको अनुसन्धानले जीबीको सबै बैंक कारोबारदेखि सम्पत्तिसमेत गरेर १ अर्ब ८६ करोड अवैध रुपमा ल्याएर वैध बनाएको भन्दै सम्पत्ति शुद्धीकरण अभियोग लगाएको हो ।

त्यस्तै प्रहरीबाट अवकाश पाए लगत्तै जीवी राईकै व्यवसायमा साझेदार हुन पुगेका पूर्वडीआइजी छविलाल जोशीले पनि सहकारीकै पैसाले निजी सम्पत्ति जोडेको देखिएको छ । जीवी राईको नेचरहब्समा साझेदार रहेका छविले सहकारीकै पैसाले ३ करोड ४९ लाख खर्च गरेर शंखमुलस्थित घर मर्मत गरेको अभियोगपत्रमा उल्लेख छ । सूर्यदर्शन सहकारीबाट जीबी राईको नाममा आएको २ करोड मध्ये १ करोड ७५ लाख पनि छविकै खातामा गएको छ । जुन अवैध हो । सूर्यदर्शनबाट आएको ६७ करोड मध्ये छविलाल गोर्खा मिडियाको सञ्चालक हुादासम्म ४८ करोड कारोबार भएको छ भने नेचरहब्समा १५ करोड कारोबार भएको छ । त्यति मात्रै होइन छविलाल जोशीले दर्शन सहकारीका सञ्चालक दिनेश दर्शनधारीसँग ९० लाख ३७ हजारमा जग्गा खरिद गरेर त्यही जग्गा उनकै सहकारीमा धितो राखेर १० करोड ऋण लिएको अभियोगपत्रमा उल्लेख छ । जीबी राई नेचर हब्समा सहकारीको रकम अपचलन गरेको, त्यही रकम छविलाल जोशीको नाममा आएको र छविलालले त्यही रकम गोर्खा मिडिया ग्रुपमा पनि लगानीसमेत गरेर ७४ करोड ३४ लाख अवैध आर्जित रकमलाई वैध बनाएको तथ्यसहित अभियोग अदालतमा पुगेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि यसअघि गोर्खा मिडिया ग्रुपमा सहकारीको पैसा आएको थाहा नभएको भन्दै आएका थिए । तर उनको यो अभिव्यक्तिलाई अनुसन्धानको तथ्यले गलत देखाएको छ । रविले २०७६ साउनदेखि २०७१ सालसम्म कर तिरेर गरेको आम्दानी ९० लाख छ । तर उनले गोर्खा मिडिया ग्रुपमा गरेको सबै कारोबार सहकारीको पैसा भएको अभियोगपत्रमा उल्लेख छ । २०७७ साल चैत १५ गते गोर्खा मिडिया ग्रुपमा १५ प्रतिशत शेयरसहित प्रबन्ध निर्देशक भएका रविको नाममा बुटवलको सुप्रिमबाट १ करोड ९६ लाख आएको छ । उनले २०७९ साल असारमा २ गते त्यही गोर्खा मिडिया ग्रुपको शेयरवापत १ करोड ८० लाख बुझाएर जीबी राईलाई हस्तान्तरण गरेका थिए । यता सूर्यदर्शन सहकारीबाट एक वर्षका लागि लिइएको १ करोड ऋणमा पनि रविले ३१ लाख ब्याज तिरेकाले सहकारीको रकम आएको जानकारी छैन भन्ने उनको भनाइलाई तथ्यले गलत सावित गरिदिएको अभियोग पत्रमा उल्लेख छ । जुन अवैध रुपमा ल्याइएको रकम वैध बनाउन देखाइएको कम्पनी हो । गोर्खा मिडिया ग्रुपको प्रबन्ध निर्देशक हुँदा काटिएको १२ सय ३७ वटा चेकमध्ये ८ सय १४ वटा त रविले नै काटेका छन् । त्यस्तै जीबी राईले सूर्यदर्शन सहकारीबाट निकालेको २ करोड मध्य ७५ लाख रविलाई दिएको बैंक विवरणमा उल्लेख छ ।

एकातिर रवि आफैंले सूर्यदर्शनमा ब्याज तिरेका छन् भने उनी प्रवन्ध निर्देशक भएकै बेला सूर्यदर्शनबाट २६ करोड १४ लाख आएको समेत गरेर लामिछानेलाई २७ करोड ८९ लाख सम्पत्ति शुद्धिकरण गरेको अभियोग लगाइएको हो । सम्पत्ति शुद्धीकरणकै आरोप लागेका अर्का आरोपी लिला पछाइ जीवी राई निकट हुन् । जसले सहकारीकै रकमले घर र जग्गा जोडेका छन् भने जीवीका लागि कारोबार गरेको तथ्यले २४ करोड सम्पत्ति शुद्धीकरण गरेको देखाएको छ ।

अर्का आरोपी रामबहादुर खनालले सहकारीकै कर्मचारीका नाममा पैसा अपचलन गरेको देखिएको छ । जबकी उनी पनि छविलाल जोशीका निकट हुन । सामान्य कर्मचारी भए पनि उनीमाथि १४ करोडको बिगो दाबी गरिएको छ ।


Image

रमेश धमला

धमला कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।