केपी ओली कप : उपाधिका लागि मच्छिन्द्र र एनआरटीबीच प्रतिस्पर्धा

जावलाखेल ३-० ले पराजित हुँदा मानेभञ्ज्याङ ५-० ले हार्‍यो
फाल्गुन १७, २०८० |कान्तिपुर टीभी संवाददाता
केपी ओली कप : उपाधिका लागि मच्छिन्द्र र एनआरटीबीच प्रतिस्पर्धा

काठमाडौं । केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधिका लागि डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र फुटबल क्लब र न्युरोड टिम (एनआरटी) बीच प्रतिस्पर्धा हुने भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र र एनआरटीले आ-आफ्ना प्रतिद्वन्द्वी हराउँदै उपाधि भिडन्त तय गरेका हुन् । यी दुईबीच शनिबार उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । एनआरटीले अर्को शीर्ष डिभिजन क्लब जावलाखेल युथमाथि ३-० को सहज जित निकाल्यो । एनआरटीको जितमा सञ्जीव विष्टले दुई तथा विवेक गुरुङले एक गोल गरे । मच्छिन्द्रले भने भारतको मानेभञ्ज्याङ फुटबल क्लबलाई ५-० ले हराउँदै एनआरटीसँगको भेट पक्का गर्‍यो ।

मच्छिन्द्रको जितमा विमल घर्तीमगर, स्टेफन समीर बिनोङ, हिसुब थपलिया, देवेन्द्र तामाङ र आयुश घलानले गोल गरे । त्यसअघि एनआरटीले खेलको सुरुवातमै अग्रता लियो । पाँच मिनेटमै विवेकको गोलबाट एनआरटीले अग्रता पाएको हो । रन्दीप पौडेलको क्रस बललाई उनले पहिलो टचमै पोस्टको जाली चुमाए । तर पहिलो हाफमा थप गोल हुन सकेन । पहिलो हाफमा एनआरटी १-० ले अगाडि रह्यो । यद्यपि, दोस्रो हाफमा भने एनआरटी चम्कियो । दोस्रो हाफ सुरु भएको केही समयमै एनआरटीले दोस्रो गोल थप्यो ।

नेपाली राष्ट्रिय टोलीका सदस्य सञ्जीव विष्टले ५०औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । रिचर्ड विलियम्सको थ्रु पासलाई सञ्जीवले सदुपयोग गरेका हुन् । यस क्रममा उनले जावलाखेलका डिफेन्डर सुनील खड्का र गोलकिपर युनेश चौधरीलाई बिट गर्दै जाली चुमाए । सात मिनेटपछि नै सञ्जीवले व्यक्तिगत दोस्रो गोल गरे । पेनाल्टी बक्स बाहिरबाट उनको प्रहार जाली चुम्न पुग्यो । त्यसपछि दुवै तर्फबाट केही प्रयास भए पनि थप गोल हुन सकेन । यसअघि एनआरटीले थ्री स्टारलाई १-० र जावलाखेलले आयोजक केपी ओली एफसीलाई २-१ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएका थिए ।

दोस्रो सेमिफाइनलमा मच्छिन्द्र पाहुना टोलीमाथि सहजै हाबी भयो । खेलको २६औं मिनेटमा विमलले फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाए । दुई मिनेटपछि नै स्टेफनले मच्छिन्द्रको अग्रता दोब्बर बनाए । हिसुबले ३७औं मिनेटमा गोल गरे । त्यससँगै पहिलो हाफमै मच्छिन्द्रले सहज अग्रता लियो । दोस्रो हाफमा पनि मच्छिन्द्रले दुई गोल थपेपछि पाहुना टोली बाहिरिन बाध्य भयो । देवेन्द्रले ५४औं मिनेटमा गोल गरे र मच्छिन्द्र ४-० ले अगाडि बढ्यो ।

उत्सव राईको कर्नर बललाई उनले हेडमार्फत जाली चुमाए । त्यसपछि केही समय पाहुना टोलीले मच्छिन्द्रलाई रोक्यो । तर, इन्जुरी समयमा आयुषले गोल गर्दै मछिन्द्रलाई ५-० को रबाफिलो जित दिलाए । सुरुमा हिसुबको प्रहारलाई गोलकिपर लालमन साँगाले बचाए । तर, रिबाउन्ड बललाई आयुशले सहजै पोस्टको दिशा दिए । यसअघि मच्छिन्द्रले विभागीय टोली नेपाल पुलिस क्लबलाई ४-० र मानेभञ्ज्याङले भारतकै दिल्ली एफसीलाई ३-१ ले हराउँदै सेमिफाइनललमा स्थान बनाएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.