केपी ओली कपको सेमिफाइनलका दुवै खेल भोलि हुँदै

फाल्गुन १६, २०८० |कान्तिपुर टीभी संवाददाता
केपी ओली कपको सेमिफाइनलका दुवै खेल भोलि हुँदै

काठमाडौं । केपी ओली कप फुटबल च्याम्पियनसिपको सेमिफाइनलका दुवै खेल भोलि हुँदैछन् । पहिलो सेमिफाइनलमा जावलाखेल युवा क्लबले न्यू रोड टिम, एनआरटीको सामना गर्नेछ ।

क्वार्टरफाइनल खेलमा आयोजक केपी ओली टिमलाई हराएर जावलाखेलले अन्तिम चारमा स्थान बनाएको थियो । यता, एनआरटीले भने क्वार्टरफाइनल खेलमा बलियो प्रतिद्वन्द्वी थ्रीस्टारलाई हराएको हो । यो खेल विहान साढे ११ बजे सुरु हुनेछ ।

भोलिदेखिका खेल दशरथ रंगशालामा हुनेछन् । क्वार्टरफाइनलसम्मका खेल भने सातदोबाटोको एन्फा कम्प्लेक्समा भएका थिए । प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल पनि भोलि नै हुनेछ ।

दिउँसो तीन बजे सुरु हुने खेलमा भने मछिन्द्र क्लबले मानेभञ्ज्याङ एफसीको सामना गर्नेछ । भारतीय टोली मानेमञ्ज्याङले यसअघि आई लिग खेल्ने टोली दिल्ली एफसीलाई हराएको थियो । यता मछिन्द्रले भने क्वार्टरफाइनलमा नेपाल पुलिस माथि ४-शून्यको फराकिलो जित दर्ता गरेर सेमिफाइनलमा पुगेको हो ।

भोलि जित दर्ता गर्ने टिमले उपाधिका लागि शनिबार प्रतिस्पर्धा गर्नेछन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.