‘नन्दु’ अर्थात् नेपाली क्रिकेटको त्यो सच्चा फ्यान...

जितमा मात्र होइन हारमा पनि ‘नन्दु’को साथ
फाल्गुन ९, २०८० |सविना कार्की
‘नन्दु’ अर्थात् नेपाली क्रिकेटको त्यो सच्चा फ्यान...

काठमाडौं । सच्चा समर्थक त्यो हो, जसले जितमा मात्र होइन हारमा पनि साथ दिन्छ । कठिन समयमा पनि आफ्नो खेलाडीको हौसला बढाउन मैदान पुग्छ । आज हामी तपाईंलाई यस्तै नेपाली क्रिकेट समर्थकसँग भेट गराउँदै छौं ।

सायद हामीले, यी समर्थकलाई चिनाइरहन पर्दैन । त्रिवि क्रिकेट मैदानमा खेल हेर्न जाने जो कोहीलाई उनीबारे राम्रोसँग थाहा छ । नन्दराम महर्जन..., झुक्किनु भयो ? नन्दुको वास्तविक नाम नन्दराम हो । कीर्तिपुरनिवासी नन्दुको दोस्रो घर त्रिवि मैदान होभन्दा फरक पर्दैन ।

हामीले, नन्दुलाई क्यामरामा कैद गर्दा त्रिविमा प्रधानमन्त्री कप पुरुष क्रिकेट चलिरहेको थियो । आर्थिक रुपमा सम्पन्न परिवारका नन्दु आत्मनिर्भर बन्नु पर्छ भनेर, मैदानमा व्यापार पनि गर्छन् । तर खेलाडीले खराब खेल्न थालेपछि भने उनी प्रशिक्षकमा परिणत हुन्छन् ।

‘उहाँले पनि कोचको रोल गरिरहनुभएको हुन्छ । सिंगल, डबल खेल्नुपर्छ, विकेट दिनुहुँदैन भनेर बाहिरबाटै कराइरहनुभएको हुन्छ । यसले गर्दा पनि हामीलाई खेलमा आकर्षित गरिरहेको महसुस हुन्छ,’ नेपाल ए टिमका कप्तान विनोद भण्डारीले भने ।

नन्दु घरेलु क्रिकेटमा सबैभन्दा बढी त्रिभुवन आर्मी क्लब र नेपाल ए टिमका कप्तान विनोद भण्डारीका फ्यान हुन् । रोहित पौडेल, कुशल मल्ल, कुशल भुर्तेललगायत राष्ट्रिय टिमका सबै खेलाडी नन्दुलाई मन पर्छ । पारस खड्का र ज्ञानेन्द्र मल्लले संन्यास लिएकामा उनलाई अझै पनि दुःख लागिरहेको छ ।

दुई दशकयता नन्दुको दैनिकी त्रिवि मैदानमा यसरी नै बितिरहेको छ । उनी र खेलाडीको सम्बन्ध आवाजले जोडिदिएको हो । हजारौंको भिडमा खेलाडी पनि, नन्दुको आवाज खोजिरहेका हुन्छन् । नन्दुको आवाज सुनिएन भने उनीहरुलाई लाग्छ, किन ? किन आएनन् ? केही पो भयो कि ?

‘एकदम खुसी लाग्छ । विनास्वार्थ नेपाली क्रिकेट र क्रिकेटरको सपोर्टका लागि आउनुहुन्छ । एक्लै भए पनि हुटिङ गर्नुहुन्छ,’ नेपाल ए टिमका प्रशिक्षक ज्ञानेन्द्र मल्लले भने, ‘आफ्नो पसलसँगै नेपाल क्रिकेटलाई पनि सपोर्ट गरिराख्नुभएको छ । उहाँले बोलाउँदा खुसी लाग्छ । उहाँले बोलाउँदा हामीलाई पनि फर्केर हेर्न मन लागिहाल्छ ।’

नन्दुले, समर्थक धेरै भएको समयमा दिनमा चार हजार रुपैयाँसम्मको आम्दानीसमेत गर्छन् । आफूले कमाएको पैसा घरमा दिन्छन्, कक्षा १० र १२ मा पढ्दै गरेका छोराछोरीका लागि खर्च गर्छन् । टिम कठिन स्थितिमा पुग्यो भने उनी व्यापार छाडेर चियर-अपमा लाग्छन् । धेरै समर्थक टिमको जित र हारमा निर्भर हुन्छन् । तर नन्दु सदावाहर छन् ।

‘एकदमै खुसी लाग्छ । किनकि कम्तिमा पनि हामीले एउटा सच्चा फ्यान कमाएका छौं राम्रोवाला । चाहे प्राक्टिस होस् वा अन्तर्राष्ट्रिय खेल नै किन नहोस् जहिले पनि उहाँ हाम्रा लागि मैदानमा उपस्थित हुनुहुन्छ,’ राष्ट्रिय क्रिकेट टिमका सोमपाल कामीले भने ।

जहिले पनि मैदानमा आएर ‘नन्दु’ ले रोहित..रोहित भनेर चिच्याउँदा आफूलाई खुसी लाग्ने राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेल बताउँछन् । उनी भन्छन्, ‘उहाँले जबसम्म हात उठ्दैन तबसम्म चिच्याउनुहुन्छ । यसले गर्दा हामीलाई निकै खुसी लाग्छ । मैले उहाँबाट एकदमै इमानदारसाथ ४/५ वर्षदेखि सपोर्ट पाइरहेको छु ।’

पौडेलका अनुसार नन्दुले जस्तोसुकै अवस्थामा पनि नेपाली क्रिकेटलाई साथ दिइरहेका हुन्छन् । ‘उहाँप्रति हाम्रो रेस्पेक्ट पनि छ,’ पौडेलले कान्तिपुर टेलिभिजनसँग भने ।

नन्दु आफैं सुटिङ, क्रिकेट, बास्केटबलका पनि खेलाडी हुन् । उनले विशेष क्षमता भएका खेलाडीले खेल्ने धेरै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका छन् ।

तस्बिर/भिडियो : राजेन्द्र महर्जन


Image

सविना कार्की

कार्की कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।