क्यानडासँगको एक दिवसीय सिरिजमा नेपालको ‘क्लिन स्विप’

अन्तिम खेलमा ९ विकेटको प्रभावशाली जित
अनिल साह र भीम सार्कीले बनाए शतक
माघ २९, २०८० |कान्तिपुर टीभी संवाददाता
क्यानडासँगको एक दिवसीय सिरिजमा नेपालको ‘क्लिन स्विप’

काठमाडौं । नेपालले क्यानडासँगको एक दिवसीय अन्तर्राष्ट्रिय सिरिज ‘क्लिन स्विप’ गरेको छ । अन्तिम खेलमा २३३ रनको लक्ष्य ४४ ओभरमा मात्र एक विकेट गुमाएर नेपालले सिरिज जितेको हो । नेपालको जितमा अनिल साह र भीम सार्कीले शतक प्रहार गरे ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालले फिल्डिङ रोजेपछि ब्याटिङ थालेको क्यानडाले ५० ओभरमा आठ विकेट गुमाउँदै २३२ रन बनाएको थियो । क्यानडाका ओपनर आरोन जोनसन चार रनमै बाहिरिएका थिए । आजकै खेलमा डेब्यु गरेका नेपालका हेमन्त धामीले व्यक्तिगत दोस्रो ओभरमा जोनसनलाई आउट गराउँदै विकेट लिए ।

त्यसैगरी, तेस्रो नम्बरमा मैदान प्रवेश गरेका सिमान्था विजयरत्ने २२ रन बनाएर आउट भए । उनी आउँटा हुँदा क्यानडाले ५५ रन पूरा गरेको थियो । निकोलस किरटोनले भने आज तीन रन मात्र बनाउन सके । ८२ बलमा अर्धशतक पूरा गरेका नवनीत धलिवाललाई ललित राजवंशीले २७ औं ओभरमा आउट गराएका थिए । सबैभन्दा किफायती बलिङ गरेका राजवंशीले नवनीतलाई ५० रनमा आउट गराएका हुन् । यससँगै चार विकेटको क्षतिमा क्यानडाले एक सय एक रन जोडेको थियो ।

हर्ष ठकरले आउट हुनुभन्दा अगाडि २९ रनको योगदान दिएका थिए । उनी कुशल मल्लको दोस्रो विकेटको सिकार बने । ४५ रन बनाएर ठूलो पारी खेल्ने क्रममा रहेका निखिल दत्त भने रनआउट भएका थिए । श्रेयश मोभ्वाले २५ रन बनाउँदा कप्तान साद विन जफरले ३१ रनको योगदान दिएका थिए । खेलको अन्तिम ओभरमा क्यानडका खेलाडीले डेन्जर जोनमा रन गरेपछि नेपालले ब्याटिङअगावै पाँच रन पाएको थियो ।

पहिलो चेतावनीलाई बेवास्ता गर्दै दौडिएका कारण क्यानडाले ५ रन पेनाल्टी दिएको हो । नेपालका लागि डेब्यु खेलमै हेमन्तले तीन विकेट लिए । उनले आठ ओभर बलिङ गरेर ४९ रन खर्च गरे । कुशल मल्लले दुई विकेट लिँदा ललित राजवंशी र आकाश चन्दले समान एक-एक विकेट गिराए ।

जवाफमा नेपालले सानदार ब्याटिङ गर्यो । व्यक्तिगत १३ रनमा ओपनर कुशल भुर्तेल आउट भए पनि नेपालले बाँकी विकेट गुमाएन् । अनिल साह र भीम सार्कीले अविजित १८९ रनको साझेदारी गरे । अनिल र भीम दुवैले एक दिवसीयमा पहिलो शतक प्रहार गरेका छन् । ११३ बलमा शतक पूरा गरेका अनिलले ११२ रन बनाए ।

त्यसैगरी भीमले पनि १२७ बलमा शतक पूरा गरे । क्यानडाका डिलोन हेलिगरले एक विकेट लिएका थिए । यससँगै क्यानडा तीन खेलमै पराजित भयो । एक दिवसीय अन्तर्राष्ट्रियमा नेपाल १४ खेलयता अपराजित छ ।

पछिल्लो संस्करणको लिग टूका अन्तिम दुई सिरिज र एसीसी प्रिमियर कपका सबै खेलमा नेपाल विजयी भएको थियो । यो सिरिजमा नेपालले पहिलो खेल सात रन र दोस्रो खेल चार विकेटले जितेको थियो । आजको खेल नेपालले ९ विकेटले आफ्नो पोल्टामा पारेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.