अस्ट्रेलियाले चौथो पटक जित्यो आईसीसी अन्डर नाइन्टिन विश्वकपको उपाधि

माघ २९, २०८० |कान्तिपुर टीभी संवाददाता
अस्ट्रेलियाले चौथो पटक जित्यो आईसीसी अन्डर नाइन्टिन विश्वकपको उपाधि

काठमाडौं । अस्ट्रेलियाले चौथो पटक आईसीसी अन्डर नाइन्टिन विश्वकपको उपाधि जितेको छ । अस्ट्रेलियाले फाइनलमा भारतलाई ७९ रनले पराजित गरेको हो ।

दक्षिण अफ्रिकाको बेनोनीमा टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५३ रन बनाएको  थियो । ओपनर साम कन्सटस खाता नखोल्दै राज लिम्बानीको बलमा पवेलियन फर्किएका थिए । दोस्रो विकेटका लागि ओपनर ह्यारी डिक्कसन र कप्तान हग वेग बेनले ७८ रनको साझेदारी गर्दै इनिङ्स सम्हाले ।

हग ४८ र डिक्सन ४२ रनमा मैदान बाहिरिएका थिए । रायन हिक्सले २० रन जोडे । भारतीय मूलका हरजास सिंहले ५५ रनको अर्धशतकीय इनिङ्स खेलेपछि अस्ट्रेलियाले  प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको थियो । ओलिभर पिक ४६ रनमा अविजित रहे । लिम्बानीले तीन र नमन तिवारीले दुई विकेट लिए । जवाफमा भारत ४३ ओभर ५ बलमा १ सय ७४ रनमा अल आउट भयो । 

पहिलो विकेटका रूपमा आर्सिन कुलकर्णी ३ रनमा पवेलियन फर्किए । मुसिर खान २२ रनमा आउट भए । मध्य क्रमको ब्याटिङ नचल्दा भारतले उपाधि गुमाएको हो । कप्तान उदय सहरान ८, सचिन दास ९ र प्रियन्सु मोलिया ९ रनमा मैदान बाहिरिए । आदर्श सिंहले सर्वाधिक ४७ र मुरुगान अभिषेकले ४२ रन बनाएका थिए । 

महली बियर्डमन र राफ मेक्मिलनले तीन-तीन विकेट लिए । अपराजित रहँदै फाइनल पुगेको  भारत छैटौँ उपाधि जित्नबाट चुक्यो । अस्ट्रेलिया सन् २०१० पछि च्याम्पियन बनेको हो । यसअघि उसले १९९८, २००२ पनि उपाधि हात पारेको थियो । 

अस्ट्रेलियाको सिनियर टिमले पनि पनि गत नोभेम्बरमा अपराजित घरेलु टोली भारतलाई नै हराएर ५० ओभरको विश्वकप जितेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.