आइभरी कोस्टले जित्यो अफ्रिकन कप अफ नेसन्सको उपाधि

माघ २९, २०८० |कान्तिपुर टीभी संवाददाता
आइभरी कोस्टले जित्यो अफ्रिकन कप अफ नेसन्सको उपाधि

काठमाडौं । अफ्रिकन कप अफ नेसन्सको उपाधि घरेलु टोली आइभरी कोस्टले जितेको छ । सेबास्टियन हालर नायक साबित हुँदा नाइजेरिया दुई-एक गोलले पराजित भयो ।

ओलम्पिक स्टेडियममा गयराति भएको फाइनलको पहिलो हाफमा अधिकांश समय आइभरी कोस्ट हाबी भयो तर गोल गर्न भने सकेन । ३८ औँ मिनेटमा नाइजेरियाले डेडलक तोड्यो । विलियम ट्रुस्ट कङले हेडर गोल गरेका थिए । तर एक-शून्य गोलले पछि परेको अवस्थाबाट आइभरी कोस्टले ब्रेकपछि उत्कृष्ट पुनरागमन गर्‍यो । 

६२ औँ मिनेटमा कर्नरबाट आएको बलमा फ्राङ्‍क केसियले हेडर गोल गर्दै खेल बराबरी गरे । ८१ औँ मिनेटमा हालरले गोल गरेपछि आइभरी कोस्ट घरेलु समर्थकअघि तेस्रो पटक उपाधि जित्न सफल भयो । १३ महिनाअघि मात्रै क्यान्सरलाई जितेर मैदान फर्किएका हालरले सेमिफाइनलमा कंगोलाई एक-शून्य गोलले पराजित गर्दा पनि निर्णायक गोल गरेका थिए । 

आइभरी कोस्ट सन् २००६ मा इजिप्टपछि च्याम्पियन बन्ने पहिलो आयोजक राष्ट्र हो  । यसअघि उसले १९९२ र २०१५ मा अफ्रिकन अफ नेसन्स जितेको थियो । सरकारले प्रतियोगिता आयोजनाका लागि एक बिलियन डलरभन्दा बढी रकम खर्च गरेको थियो । 

च्याम्पियन टोलीले पुरस्कार बापत ७ मिलियन डलर र नाइजेरियाले ४ मिलियन डलर प्राप्त गरे । अपराजित रहँदै फाइनल पुगेको नाइजेरिया भने चौथो उपाधि जित्नबाट चुक्यो । समूह चरणमा नाइजेरियाले आइभरी कोस्टलाई एक-शून्य गोलले हराएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.