लमजुङ । यो साता सावित्रा भण्डारी अर्थात् साम्बाले नेपाली खेलकुद क्षेत्रलाई नै नयाँ उचाइ दिलाइन् । दक्षिण एसियाकै उत्कृष्ट महिला फुटबल खेलाडी सावित्राले युरोपेली प्रोफेसनल फुटबलमा प्रवेश गरेकी छन् । भण्डारीको चम्किलो खेलयात्राले उनका समर्थक र खेलप्रेमी त खुसी हुने भइहाले, उनका परिवार, छिमेकी र आफन्त पनि उत्तिकै खुसी छन् ।
छोरी सावित्रा भण्डारी युरोपमा अन्तर्राष्ट्रिय फुटबल खेल्दै गर्दा उनका बुबा फमबहादुर भण्डारी गाउँमा मेलापातमा व्यस्त छन् भने आमा मुना भण्डारी भने घरमै गाईवस्तुको स्याहारमा ।
गाउँको मैदानदेखि विश्व मैदानसम्मको संघर्षपूर्ण यात्राको सम्झनाले पनि भण्डारी दम्पत्तीलाई गर्वको महुसस हुन्छ ।
सावित्राले बुबा-आमाको आँखा छलेर गाउँमा दाजुभाइसँग मोजाको फुटबल खेलेका दिनहरु छिमेकी र आफन्तले बिर्सेका छैनन् । सावित्रा जन्मेको मर्स्याङ्दी गाउँपालिका ९, पामचोक गाउँ नै सावित्राको प्रगतिले हर्षित छ ।
सावित्राले यहीँको सरस्वती आधारभूत विद्यालयमा कक्षा २ देखि ८ सम्म अध्ययन गरेकी थिइन् । साम्बालाई विद्यालयमा पढाएका शिक्षक कमला थापाले उनी सानो छँदा पनि फुर्तिली र खेलप्रति लगनशील रहेको अनुभव सुनाइन् ।
सामान्य परिवारमा दुखले हुर्किएकी साम्बा, अहिले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित क्लब फ्रेन्च क्लबमा अनुबन्ध हुनु देशका लागि गर्वको विषय बनेको छ ।
यो पनि...
एउटा सानदार यात्रा : सावित्रा भण्डारीदेखि गोल मेसिन साम्बासम्म