दुई ‘चिकन डिनर’ जिते पनि पब्जी एसियन शोडाउनमा ‘नेपाल ब्लु’ तेस्रो

वैशाख २८, २०८२ |खेल ब्युरो
दुई ‘चिकन डिनर’ जिते पनि पब्जी एसियन शोडाउनमा ‘नेपाल ब्लु’ तेस्रो

काठमाडौं । नेपाल ब्लु टिम पब्जी मोबाइल एसियन शोडाउन २०२५ मा तेस्रो भएको छ । आज सम्पन्न अन्तिम दिनको पाँच खेलमध्ये दुई ‘चिकन डिनर’ जितेको भए पनि आवश्यक अंक पूरा गर्न नसक्दा नेपाल तेस्रो स्थानमा समेटिएको हो । प्रतियोगिताको उपाधि पाकिस्तानले जित्यो भने इन्डोनेसिया दोस्रो भयो ।

नेपाल ई-स्पोर्ट्स संघ (इसान)को आयोजनामा भएको शोडाउनमा पाकिस्तानले आफ्नो खेलमा उल्लेखनीय सुधार गर्दै कुल १५ खेलमा १७३ अंक जोडेर उपाधिमा कब्जा जमाएको हो । दोस्रो दिनसम्म इन्डोनेसिया शीर्ष स्थानमा थियो भने पाकिस्तानले दोस्रो स्थानमा ११७ अंकका साथ पछ्याइरहेको थियो । तर अन्तिम दिन पाकिस्तानले दुई पटक ‘चिकेन डिनर’ जित्दै इन्डोनेसियालाई चार अंकले पछि पार्दै उपाधि कब्जा गर्‍यो । 

इन्डोनेसियाले १६९ अंकमा प्रतियोगिता समाप्त गर्‍यो । अन्तिम दिनमा इन्डोनेसियाली खेलाडीको कमजोर प्रदर्शनका कारण उपाधि गुमाएका हुन् । यता, नेपाल ब्लु टोली अन्तिम दिन उत्कृष्ट लयमा फर्किँदै दुई वटा चिकेन डिनर जितेर १५४ अंक बनाएको थियो । त्यसैगरी, नेपाल रेडले ११८ अंक, मलेसियाले ११२ अंक र जोर्डनले ९० अंक जोड्दै क्रमशः चौथो, पाँचौं र छैठौं स्थानमा समापन गरे । 

पाकिस्तानका फलक प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बने । उनले प्रतियोगिताभर निरन्तर आक्रामक र निर्णायक भूमिका निर्वाह गर्दै आफ्नो टोलीलाई जिततर्फ डोर्‍याए । मस्ट भ्यालुएबल खेलाडीको तालिकाको शीर्ष पाँचमा पाकिस्तानका तीन र नेपालका दुई खेलाडी समावेश भए । १४ राष्ट्र सहभागी प्रतियोगितामा नेपालबाट तीन टोलीहरूले प्रतिस्पर्धा गरेका थिए ।