एउटा सानदार यात्रा : सावित्रा भण्डारीदेखि गोल मेसिन साम्बासम्म

माघ २२, २०८० |कान्तिपुर टीभी संवाददाता
एउटा सानदार यात्रा : सावित्रा भण्डारीदेखि गोल मेसिन साम्बासम्म

काठमाडौं । सावित्रा भण्डारी नेपाली फुटबलको सर्वकालीन सर्वाधिक गोलकर्ता हुन् । दक्षिण एसियाकै उत्कृष्ट फरवार्ड मानिएकी सावित्राको यात्रा अहिले युरोपेली फुटबलसम्म पुगेको छ । युरोपेली क्लबमा अनुबन्ध हुनु नेपाली खेलाडीका लागि वर्षौंदेखिको प्रतीक्षाको क्षण थियो । सावित्राले शनिबार राति फ्रान्सको शीर्ष डिभिजनको ‘डी वान अरकेमा’ को क्लब अन अभान्ट ग्याङगम्पमा डेब्यु गर्दा त्यो सपना साकार भएको छ ।

सावित्रा भण्डारी अर्थात् गोल मेसिन साम्बा । नेपाली फुटबलकी सर्वाधिक सफल खेलाडी २६ वर्षकी भइन् । यो उमेरमै फुटबल आइकन बनेकी सावित्रा हरेक चुनौतीको सामना गर्न सामर्थ्य राख्छिन् । त्यसैले त उनको यात्रा लमजुङदेखि फ्रान्सको शीर्ष डिभिजनसम्म पुगेको छ ।

सामान्य परिवारमा जन्मिएकी सावित्रा भण्डारी लगनशील थिइन् । पढाइ मध्यम भए पनि काम ठूलो-सानो नछुट्याउने । बाल्यकालमा नेपाली महिला खेलाडी जमुना गुरुङ र अनु लामाले देशका लागि गोल गरेको समाचार सुन्दा, उनमा फुटबल खेल्ने आकांक्षा जाग्थ्यो । छोरीले म फुटबल खेल्छु भन्नु अझैसम्म विद्रोह नै मानिन्छ । तर सावित्राले विद्रोह गरिन् । विद्रोह, क्रान्तिमा बदलियो- सपना साकार भयो । सन् २०१४ मा सावित्राले राष्ट्रिय फुटबल टिममा डेब्यू गरिन् ।

साफ च्याम्पियन्सिपमा उनले भुटानविरुद्ध डेब्यु गोलसमेत गरिन् । गति, ड्रिब्लिङ, शारीरिक क्षमता र रणनीतिक रुपमा अब्बल सावित्राले भुटानविरुद्ध एकै खेलमा ६ गोल गरिन् । यस्तै क्षमताले उनलाई कतिले त ‘गोल मेसिन साम्बा’ भनेर चिन्छन् । साम्बा ब्राजिली परम्परा मिश्रित फुटबल शैली र नृत्यकला पनि हो । विश्व फुटबलमा ब्राजिलजस्तै नेपाली फुटबलमा उनी सर्वाधिक सफल छिन् ।

सावित्राले चार वर्षअघि आफ्नै आइडल अनुको ३५ गोलको कीर्तिमान तोडेकी थिइन् । गत वर्ष ओलम्पिकको एसिया छनोटमा भियतनामविरुद्ध गोल गर्दा उनले आफ्नै कीर्तिमान सुधार गरिन् । अहिले सावित्राले नेपाली राष्ट्रिय फुटबल टिमबाट ४३ गोल गरिसकेकी छन् ।

जब नेपालमा घरेलु लिग हुन्छ, सावित्राले कति गोल गर्लिन् भन्ने पूर्वानुमान गर्न थालिन्छ । उनले एकै खेलमा १२ गोलसम्म गरेकी छन् । घरेलु लिगमा उनले आजसम्म गरेको गोलको त तथ्यांक नै छैन । एउटा सफलताले मानिसलाई अर्को गन्तव्यमा पुर्याउँछ भनेझैं उनले व्यावसायिक फुटबलमा चाँडै उडान भरिन् । भारतीय लिगको नियमित खेलाडी बनिन् । उनको उत्कृष्ट प्रदर्शनबाटै भारतको गोकुलम केरला दुईपटक आई लिग च्याम्पियन बनिसकेको छ ।

पछिल्लो सिजन उनले २९ गोल गरेकी थिइन् । सेथु एफसी च्याम्पियन बन्दा सावित्राले धेरै निर्णायक गोल गरिन् । भारतीय लिगमा गरेको यही प्रदर्शनबाट उनलाई इजरायली क्लब हापोएल रानानाले अनुबन्ध गरेको थियो । इजरायलको त्यो क्लबबाट खेल्नु नै उनको युरोपेली फुटबलको पहिलो पाइला भयो । तीन वर्षअघि उनले फिफासँग युरोपमा खेल्ने आशा व्यक्त गर्दै अन्तर्वार्ता दिएकी थिइन् ।

सावित्राको फुटबल यात्रा अब युरोपकै ठूलो देश फ्रान्समा सुरु भएको छ । गत आइतबार अन अभान्ट ग्याङगम्प र बोर्डेसँगको खेलको अन्तिम १५ मिनेट बाँकी रहँदा उनी मैदान प्रवेश गरिन् । उनको टिमले एक-एकको बराबरी खेल्यो । आजसम्म खेलेका सबै प्रतियोगितामा उत्कृष्ट साबित हुँदै आएकी सावित्रा अब उच्च कौशल प्रदर्शन गर्ने अपेक्षामा छिन् ।

युरोपको इन्टेन्स फुटबलमा रमाउनु जो कोही फुटबलरको सपना हो । त्यसलाई पूरा गर्न निकै कठिन छ । नेपाल र भारतमा गरेको अभ्यासले युरोपेली हाई फिजिकल फुटबल खेल्न मुस्किल पर्छ । त्यसका लागि उच्च अभ्यास चाहिन्छ । खानपान र जीवनशैलीमा नै परिवर्तन गर्नुपर्ने हुन्छ । तर सावित्रा ट्रेन्डमेकर खेलाडी हुन्, उनी आफू मात्र होइन देशका कैयौं खेलाडी युरोपमा खेलून् भन्ने चाहन्छिन् । सावित्रालाई ती सबै खेलाडीका लागि प्रेरणाको पात्र पनि बन्ने अवसर छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement