सेवासुविधाको अभावमा काम गरिरहेछन् नर्स

वैशाख २९, २०८२ |कान्तिपुर टीभी संवाददाता
सेवासुविधाको अभावमा काम गरिरहेछन् नर्स

काठमाडौं । नेपालमा व्यावसायिक नर्सिङ सुरुआत भएको दशकौं बितिसक्दा पनि नर्सहरूले अझै सेवासुविधाको अभावमा काम गरिरहनु परिरहेको गुनासो गरेका छन् । सरकारबाट वृत्ति विकासको अवसर नपाएको तथा निजी तथा गैरसरकारी स्वास्थ्य संस्थामा अझै सरकारले तोकेअनुसारको तलब नपाएको नर्सहरूको गुनासो छ । 

त्यस बाहेक नेपालमा नर्स र बिरामी अनुपात समेत नमिलेकाले गुणस्तरीय सेवा दिन समस्या देखिएको उनीहरूको भनाइ छ ।

नेपाल नर्सिङ परिषद्को तथ्याङ्क अनुसार नेपालमा ८५ हजार ७७८ नर्स दर्ता रहेकामा सरकारी स्वास्थ्य संस्थामा करिब १८ हजारको हाराहारीमा कार्यरत रहेको अनुमान छ । बाँकी गैरसरकारी संस्थामा, विदेश पलायन तथा बेरोजगार रहेको अनुमान छ । स्वास्थ्य मन्त्रालयले सन् २०२१ मा गरेको प्रक्षेपण अनुसार २०२५ सम्ममा नेपालमा ६४ हजार नर्स आवश्यक रहेको प्रक्षेपण गरिएको थियो ।

स्वास्थ्य मन्त्रालयले सबै निजी, सामुदायिक लगायत स्वास्थ्य संस्थाहरूलाई २०८१ मंसीर २७ गते नै परिपत्र गरी नर्सिङ लगायत जनशक्तिलाई सरकारीसरह पारिश्रमिक दिन परिपत्र गरे पनि कार्यान्वयन नभएको नर्सिङ संघको गुनासो छ । सरकारी संस्थाहरूमा लामो समयदेखि दरबन्दी नथपिनु र गैरसरकारी संस्थाहरूमा कम पारिश्रमिक लगायतका कारण ठूलो संख्यामा नर्सहरू विदेशिने गरेका छन् ।

सरकारले नर्सिङ क्षेत्रमा देखिएका समस्या तत्काल सम्बोधन गर्न नसके आगामी दिनमा उपचार सेवामा समेत जनशक्ति अभावको स्थिति सिर्जना हुन सक्ने नर्सिङ संघका पदाधिकारीहरूको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.