छैटौं जुम्ला रारा म्याराथनको उपाधि दलबहादुर र कल्पनालाई

वैशाख २८, २०८२ |डीबी बुढा
छैटौं जुम्ला रारा म्याराथनको उपाधि दलबहादुर र कल्पनालाई

जुम्ला । जुम्लाको सदरमुकाम खलंगामा शनिबार सुरु भएको छैटौं जुम्ला रारा अल्ट्रा म्याराथनको उपाधि कर्णाली खेलकुद क्लबका दलबहादुर कुँवरले जितेका छन् । पुरुषतर्फ कुँवर र महिलातर्फ कर्णाली खेलकुद क्लबकै कल्पना बुढाले उपाधि चुमिन् ।

तातोपानी गाउँपालिका-७ का २३ वर्षीय कुँवरले ५१ किलोमिटर दूरी ५ घण्टा ५३ मिनेट ५७ सेकेन्डमा पूरा गरेका थिए । जुम्ला रारा म्याराथनको पाँचौ संस्करणमा समेत उपाधि चुमेका कुँवरको पोल्टामा छैटौं म्याराथनको उपाधि पनि हात परेको हो । कुँवर कर्णाली खेलकुद क्लबका धावक हुन । 

महिलातर्फ कर्णाली खेलकुद क्लबकी धाविक कल्पना बुढाले निर्धारित दूरी ७ घण्टा ५१ मिनेट ३१ सेकेन्डमा पार गरेर उपाधि चुमिन् ।

पुरुषतर्फ नेपाली सेनाका सुबेदार होमलाल श्रेष्ठ द्वितीय र तृतीय स्थान कर्णाली खेलकुद क्लबका सोमबहादुर रावत हासिल गरे । ४२ वर्षीय श्रेष्ठले ६ घण्टा ७ मिनेट ५५ सेकेन्डमा दूरी पार गरे । रावतले ६ घण्टा १० मिनेट ०४ सेकेन्डमा पार गरे । चौथोमा कर्णाली खेलकुद क्लबका चन्द्रबहादुर रावतले ६ घण्टा १९ मिनेट २८ सेकेन्डमा दूरी पार गरे । ६ घण्टा ३१ मिनेट ४२ सेकेन्डमा दूरी पार गर्दै शेरबहादुर बुढा पाँचौं स्थान पक्का गर्न सफल भए ।

महिलातर्फ उपविजेता जुम्लाकै २० वर्षीय राज्यलक्ष्मी रावल भइन् । उनले ८ घण्टा ४८ मिनेट ४१ सेकेन्ड उक्त दूरी पूरा गरिन् । ८ घण्टा ४६ मिनेट २ सेकेन्ड लगाउँदै सन्दिपा बुढा तृतीय भइन् । चौथो भएकी पुसा बुढाले ९ घण्टा ३७ मिनेट ०७ सेकेन्ड, पाँचौं हुन सफल अनिशा गुरुङले ११ घण्टा ७ मिनेट २५ सेकेन्डमा दूरी पार गरिन् । 

जुम्ला रारा अल्ट्रा म्याराथनमा विजेता धावक धाविकालाई रारा तालको छेउमा पुरस्कार प्रदान गरिएको थियो । प्रथम हुनेलाई एक लाख, द्वितीयलाई ७५ हजार र तृतीय हुनेलाई ५० हजार रुपैयाँ नगद, प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो । चौथो हुने धावक धाविकालाई ३५ हजार पुरस्कार दिइएको थियो ।

कर्णालीमा सहासिक खेल पर्यटनको विकास गर्न तथा विश्वसामु कर्णाली चिनाउन निरन्तर आयोजना भइरहेको म्याराथनले खेलाडीहरूमा उत्साह थपिएको कर्णाली खेलकुद क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिए । जुम्ला रारा अल्ट्रा म्याराथनमा ५९१ जना खेलाडीले भाग लिएका थिए । जसमध्ये ४ जना विदेशी खेलाडी थिए । नेपालका १० जिल्लाका खेलाडीहरूले सहभागिता जनाएका थिए ।

विश्वकीर्तिमानी धावक हरीबहादुर रोकायाले जुम्ला रारा म्याराथन दौड मात्र नभएर साहसिक पर्यटनको गन्तव्य बन्न सक्ने बताए । उनले भने, “यहाँ आउने खेलाडीहरू दौडन मात्र आइरहेका हुँदैनन् । कर्णालीको सुन्दरतासँग रमाउन पनि आइरहेका हुन्छन् । यो म्याराथन उनीहरूका लागि राम्रो माध्यम बनेको छ ।”


Image

डीबी बुढा

बुढा कान्तिपुर टेलिभिजनका जुम्ला संवाददाता हुन् ।