टेस्टबाट बिदा भए कोहली, भन्छन्- आफ्नो करिअर खुशीसाथ सम्झिने छु

वैशाख २९, २०८२ |खेल ब्युरो
टेस्टबाट बिदा भए कोहली, भन्छन्- आफ्नो करिअर खुशीसाथ सम्झिने छु

काठमाडौं । क्रिकेटर विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । उनले आज सामाजिक सञ्जालमार्फत सन्न्यासको घोषणा गरेका हुन् । 

तर सन्न्यास लिन सहज नभएको उनको भनाइ छ । विराटले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेको १४ वर्ष पूरा भएको छ । उनले क्रिकेटले आफूलाई अघि बढ्न धेरै सहयोग गरेको तथा टेस्ट क्रिकेटले आफूलाई टेस्ट गरेको, धेरै सिकेको पनि बताएका छन् ।

विराटले डेढ दशकको करिअरमा १२३ टेस्ट क्रिकेट खेलेका छन् । त्यसमध्ये उनले ६८ खेलमा कप्तानी समेत गरे । ती खेलहरूमा उनले ४६.८५ को औसतमा नौ हजार २३० रन जोडेका छन् । पाँच दिन लामो टेस्ट क्रिकेटमा समर्थकले नदेखेका थुप्रै क्षण आफ्नो सम्झनामा रहेको बताएका छन् । उनले यो फर्म्याटबाट आफूलाई अलग राख्नका लागि सजिलो नभएको तर यो नै सही समय भएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । उनले अहिलेसम्मको यात्रामा सहयोग गर्ने सबै समर्थक र टिममेटलाई धन्यवाद भनेका छन् । त्यसैगरी उनले आफ्नो करिअर जहिल्यै पनि खुशीसाथ सम्झिने बताएका छन् ।

इङ्ल्यान्डमा आउँदो पाँच खेलको सिरिजअघि नै उनले गत शनिबार आफूले सन्न्यास लिन चाहेको बीसीसीआईलाई बताएका थिए । जुन २० बाट सुरु हुने सिरिजका लागि उनको नाम आउने विश्वास गरिएको थियो । उनले टेस्टमा दक्षिण अफ्रिकाविरुद्ध अविजित २५४ रन बनाएका थिए । 

गत हप्ता कप्तान रोहित शर्माले पनि टेस्टबाट सन्न्यासको घोषणा गरेपछि भारतीय टिमको जिम्मेवारी शुभमन गीलले पाएका छन् । तर बीसीसीआईले कोहलीको अनुभव आवश्यक पर्ने भएका कारण उनलाई पनि इङ्ल्यान्ड सिरिजमा समावेश गर्न चाहेको छ ।